झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएका झापाका एक युवाको निधन भएको छ। बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको परिवारले जानकारी दिएको छ।

विकासको मृत्युको कारण खुल्न नसकेको उनका पिता ध्रुवराज कार्कीले बताएका छन्। ‘छोराको निधनको खबर त आयो, तर के कारणले मृत्यु भयो भन्ने यकिन खुल्न सकेको छैन,’ उनले भने।

डेढ वर्षअघि काठमाडौंस्थित ओमेगा इन्टरनेश्नल म्यानपावर कम्पनीमार्फत कुवेत गएका विकास त्यहाँको ईटिसी कुवेत कम्पनीमा कार्यरत थिए। उनको साथमै अर्का एक नेपालीको पनि निधन भएको अपुष्ट सूचना आएको छ।

छोराको असामयिक निधनले स्तब्ध कार्की परिवारले शव यथासिघ्र नेपाल ल्याउन र मृत्युको वास्तविक कारण छानबिन गर्न सरकारसँग माग गरेको छ।


Views: 148

