Aamsanchar

रास्वपा झापाको आरोप : कारबाही प्रभावित पार्न खोज्दै पूर्व सभापति खरेल

Author Image
मङ्गलवार, वैशाख २३, २०८२

झापा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले अनुशासन आयोगमा सिफारिस गरिएका पूर्व सभापति उमेश खरेलले आफूमाथिको संभावित कारबाही प्रभावित पार्ने अभिव्यक्ति र गतिविधि गरिरहेको आरोप लगाएको छ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै, नेपालको मौजुदा कानुनअनुसार दुईवटा दण्डनीय अपराधमा संलग्न भएको प्रमाणसहित कारबाही सिफारिस गरिएको खरेलले अनुसन्धान नसकिँदै सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यमबाट भ्रम फैलाउने प्रयास गरिरहेको जनाएको छ।

कार्यवाहक सभापति प्रकाश पाठकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ कि खरेलले आफूमाथि अन्याय गरिएको, गुटबन्दी गरिएको, पार्टीको भविष्य अन्धकारमय रहेको लगायतका झूटा आरोपहरू सार्वजनिक रूपमा दोहोर्‍याउँदै आएका छन्। यसरी दिइएका अभिव्यक्तिले पार्टी, जिल्ला समिति र नेतृत्वप्रति झापावासी तथा रास्वपाकर्मीहरूमा भ्रम सिर्जना भएको जनाइएको छ।

खरेलमाथि पार्टीभित्र विभागीय सिफारिसमा रकम माग्ने, उठाएको रकम पार्टीमा नबुझाउने र आर्थिक अनियमितता गरेको आरोप लागिएको छ। २०८१ सालको पुष ७ गते भएको जिल्ला भेलामा हल भाडा तिर्ने क्रममा समेत आर्थिक अपचलन देखिएको भन्दै फागुन ११ गते जिल्ला समितिको सर्वसम्मत निर्णयबाट अनुशासन आयोगमा सिफारिस गरिएको थियो।

पार्टीले सबै सदस्यहरूलाई भ्रममा नपर्न र कारबाही प्रक्रिया पूरा नहुञ्जेल कुनै निष्कर्षमा नपुग्न अपिल गरेको छ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर