Aamsanchar

हलगोरु पाल्ने किसानलाई पाँच हजारका दरले पोषणभत्ता वितरण

Author Image
बिहिवार, वैशाख २५, २०८२

बागलुङ – यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ। गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो।

परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पुर्याएको अध्यक्ष राजु थापाले बताए।

गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको उनले जनाकारी दिए। ‘हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाएका छन्। पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउन पहिलोपटक यो कार्यक्रम ल्याएको हो’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रतिलिटर रु साढे दुईका दरले अनुदानसमेत पाएका छन्भने वडास्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ।’

आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। “विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहडै चलेको तर हामीले गाउँ–गाउँमा परम्परागतखेती गर्नका लागि हलगोरु नै उपयुक्त देखेका छौँ। कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ”, अध्यक्ष थापाले भने।

गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महशुस भएको बताए। उहाँले रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको बताए।

काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए। यस्तै, किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर