

काठमाडौं – मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै हुँदैछ। खेल दिउँसो ३ बजे हेटौंडा रंगशालामा हुनेछ।

प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी उचाल्ने दाबी गरेका छन्।

दुई टोली १३ दिनमा तेस्रो पटक फाइनल खल्दैछन्। वैशाख १२ गते लुम्बिनी कप र वैशाख २० गते बागमती मुख्यमन्त्री कपको फाइनलमा खेलेका थिए। दुवै फाइनलमा एपिएफ विजयी भएको थियो।


बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले मेहनत गरेर उपाधि हात पार्ने दाबी गरेका छन्।
एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधि जित्ने बताए। एपिएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफुहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधी जित्ने गरि खेल्ने दाबी गरिन्।
यस्तै पुलिसका प्रशिक्षक भोला सिलवाल एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए।
राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफ बलियो भए पनि आफूहरुले जित्ने गरि खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको बताए।
यो पटक एपिएफलाई रोक्ने आफूहरुको रणनीति रहेको उनको भनाइ छ। पुलिसकी कप्तान निरु थापाले यो उपाधी जित्ने गरि आफुहरु मैदान उत्रने बताइन्।
प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
यस्तै एपिएफ वीररगंजलाई १२–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै पुलिसँगको भेट पक्का गरेको हो।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
४ महिनामा एपिएफ र पुलिसबीच ५ पटक फाइनलमा भेट भएकोमा सबै उपाधि एपिएफले जितेको छ।

