बिर्तामोड । वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना गरिएको वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन हिजो बिर्तामोडमा सम्पन्न भएको छ।

संघले १३ वर्षको दीर्घ यात्रापछि संस्थागत रुपमा वैधानिक दर्ता गराएको हो। अधिवेशनको उद्घाटन संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, काठमाडौंका वरिष्ठ उपाध्यक्ष सजितकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा अध्यक्ष पन्धाकले संघको प्रतिवेदन प्रस्तुत गर्दै कानुनी मान्यता प्राप्त भए पनि अझै धेरै नीतिगत समस्या रहँदै आएको उल्लेख गरे। उनले समाज र राज्यले व्यवसायीलाई पीडक र श्रमिकलाई मात्र पीडितको रूपमा बुझ्ने प्रवृत्तिको अन्त्यका लागि संगठित पहल आवश्यक रहेको धारणा राखे।

झापामा सञ्चालनमा रहेका करिब १५० म्यानपावर कम्पनीमध्ये १०५ मात्र संघमा आवद्ध छन्। संघले बाँकी व्यवसायीलाई पनि संस्थागत ढाँचामा ल्याउने तयारी गरिरहेको जनाएको छ।


कार्यक्रममा वैदेशिक रोजगार व्यवसायमा महत्वपूर्ण योगदान पुर्याउने अग्रज व्यवसायी भानुप्रसाद शिवाकोटीलाई सम्मान गरिएको थियो। साथै, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको थियो।
अधिवेशनमा शुभकामना मन्तव्य राख्ने वक्ताहरूमा निर्वाचन समिति संयोजक गोपाल लामिछाने, महासंघका केन्द्रीय सदस्य कृष्ण ढकाल, झापा सल्लाहकार संयोजक भानुप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, र डिएसपी विजय श्रेष्ठ रहेका थिए।
कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष अजयकुमार देव, औचित्यमाथि प्रकाश द्वितीय उपाध्यक्ष कर्ण पौडेल, र सञ्चालन संघका सचिव चन्द्रप्रसाद ९सीपी० पाठकले गरेका थिए।

