Aamsanchar

बाह्रदशीमा हावाहुरीको कारण ४० विघा केराखेतीमा क्षती

Author Image
सोमवार, वैशाख २९, २०८२

बिर्तामोड । झापा, बाह्दशी गाउँपालिका–७ बत्तिविघामा एक क्षणको वेगले लिएको हावाले यहाँका कृषकका वर्षौंको पसिना, आशा र सपना सबै एकैसाथ उडायो। हिजो आइतबार बेलुका ५ः३० बजे सुरु भएर करिब पाँच मिनेट चलेको हुरीले ५५ विघामा फैलिएको केरा बगानलाई तहसनहस बनाइदियो। ३० विघामा लगाइएको केरा जति पूरै ढलेर नष्ट भएका छन् भने १० विघामा आंशिक क्षति पुगेको छ । बाँकी १५ विघामा मात्रै केरा कुनै तरहले जोगिन सकेको पीडित कृषक मिलन संग्रौलाको भनाई छ ।

फल लागेर आम्दानी दिने बेला थियो—कृषकको आँखामा सुन जस्तो देखिएको बगान अहिले खरानी भएको छ। हावाको सुसाइसँगै उनीहरूको जीवनको भरोसा पनि ढलेको छ। २२ घरधुरीले मिलेर गरेको सामूहिक लगानी र मिहिनेतको प्रतिफल यसरी नष्ट हुँदा कृषकले ठूलो आर्थिक क्षती व्यहोर्नु परेको छ ।

कृषकहरूले प्रति विघा ४ लाख आम्दानीको सपना देखेका थिए। तर त्यसका लागि उनीहरूले अहिलेसम्म प्रति विघा झण्डै १ लाख २५ हजार रुपैयाँ लगानी गरिसकेका थिए। अब न आम्दानी बाँकी रह्यो, न त लगानी सुरक्षित। ढलेका केरा हटाउन मात्र पनि प्रतिविघा १५ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था छ, जसले कृषकहरूलाई झनै आर्थिक संकटमा धकेलेको भन्दै कृषक देविप्रसाद प्रसाईले दुखेसो पोखेका छन् ।

आफ्नै श्रम र माटोमा भविष्य देखेका ती किसान आज निराश छन्। प्राकृतिक प्रकोपले त उनीहरूको बगान लुट्यो, अब यदि राज्यको साथ पनि उनीहरूले पाएनन् भने, उनीहरूले फेरि उभिन सक्ने आशा कहाँबाट ल्याउन ?

घटनापछि बाह्दशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चौलागाईंले प्रहरीमार्फत क्षतिको विवरण संकलन गर्ने र पालिकाबाट सक्दो राहत सहयोग गर्ने आश्वासन दिएका छन्। तर राहतको आश्वासनभन्दा बढी कृषकलाई चाहिएको छ—आर्थिक सहारा, नैतिक सम्बल र दीर्घकालीन समर्थन।
नेपाली अर्थतन्त्रलाई धानेका यिनै कृषकहरू हुन्, जसले विदेशी वस्तुको विकल्प देशमै उत्पादन गरिरहेका छन्। यदि यिनै कृषक आज गुम्सिएर रोए भने, देशको आर्थिक मेरुदण्ड नै कमजोर हुन्छ। त्यसैले अब पनि सरकार मौन बस्यो भने, केरा खेतीको सट्टा कृषकले वैदेशिक रोजगारी वा खेती छोड्ने निर्णय गर्न सक्छन—जसको परिणाम हामी सबैलाई भारी पर्न सक्छ ।

साँच्चिकै, जब माटोमा पसिना बगाउने हात रित्तिन्छन्, तब राष्ट्रको माटो पनि बाँझो हुन थाल्छ। त्यसैले सरकार, अब पनि नउठ्ने हो भने कहिल्यै नउठ्नुपर्ने दिन नआओस्।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर