लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संयमका लागि आग्रह गरेको कारण भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोकिएको दाबी गरेका छन्।

लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त टिप्पणी गरेका हुन्। उनले अन्तर्राष्ट्रिय संकटको क्षणमा नेपालले बुद्धको शिक्षाबाट प्रेरणा लिएर संयम र शान्तिको सन्देश फैलाउने भूमिका खेलेको उल्लेख गरे।

“भारत र पाकिस्तानबीच लगभग हात हालाहालको अवस्था आयो,” प्रधानमन्त्री ओलीले भने, “हामीले संयमित हुन आग्रह गर्यौं र स्थिति नियन्त्रणमा आयो।”

उनले शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश आजको संसारमा झनै सान्दर्भिक हुँदै गएको उल्लेख गरे। “बुद्धका उपदेशहरू – शान्ति, मानवता, करुणा – विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि आवश्यक छन्,” उनले जोड दिए।

प्रधानमन्त्री ओलीले बुद्धका शिक्षालाई व्यवहारमा उतार्न र नेपाललाई शान्तिको सन्देश दिने देशको रूपमा उभ्याउन सबैलाई आग्रह गरे।

