Aamsanchar

रोशीको रौद्र रूप : आठ घण्टादेखि ठप्प बिपी राजमार्ग, एक महिला बेपत्ता

Author Image
मङ्गलवार, वैशाख ३०, २०८२

काभ्रेपलाञ्चोक । सोमबारको साँझ सुरु भएको वर्षाले रातभरि आकाश र जमिन दुबै अशान्त बनायो। त्यसको प्रत्यक्ष साक्षी बन्यो रोशी खोलाको रौद्र रूप, जसले बिपी राजमार्गको माप्ती खण्डमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदै यातायातको लय नै भत्काइदियो।

रातिको करिब ८ बजे देखिएको खोलाको उग्र बहावले रोशी गाउँपालिका–१२ को मङ्गलटारतर्फको सडक भागमा क्षति पुर्यायो। त्यसपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भयो — आठ घण्टा लामो सन्नाटा र अलपत्र यात्रुहरूको बेहोशी।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सो डाइभर्सन गत वर्षको असोजमा आएको बाढीपछि मात्रै बनाइएको थियो। तर यसपटकको वर्षाले फेरि पनि त्यसलाई सम्हालिन दिएन।

बिहान उज्यालो लाग्दै गर्दा सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासले एकतर्फी रूपमा राजमार्ग खुलाउने काम सुरु भयो।
त्यहीबीच, अलपत्र परेका १७ यात्रुहरूलाई सुरक्षित स्थानमा पु¥याइएको खबर राहतका रूपमा आयो।

सोमबार साँझ करिब ६ बजे, पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोला अकस्मात उर्लियो। मेला घुमेर घर फर्कंदै गरेकी ३३ वर्षीया रेनुका गिरी त्यसैबेला खोलाले बगाइन्।
स्थानीयले खबर गरेपछि प्रहरीले खोजी सुरु गर्‍यो, तर अँध्यारो र पानीको बहावले खोजी रातभर रोकियो। आज बिहानदेखि भने नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालित छ।

पनौती बसपार्क आसपासका क्षेत्रहरू पनि डुबानमा परेका छन् भने खेतमा रोपिएको आलु खोलाको बाढीले बगाएको छ। रोशीको एक रातको आक्रोशले जीवन, बाटो र बालीमा गहिरो चोट पुर्‍याएको छ। अब सबैको नजर छ — मौसम खुल्ने आशामा र बेपत्ता महिलाको सुराग पाउने अपेक्षामा।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर