Aamsanchar

आजको माैसम

Author Image
मङ्गलवार, वैशाख ३०, २०८२

काठमाण्डौ – देशका पहाडी केही ठाउँमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौमा पनि दिउँसोपछि मेघगर्जनसहित छिटपुट पानी पर्न सक्ने अनुमान गरिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

हिजो गुल्मी, स्याङ्जा, काभ्रेलगायतका जिल्लामा ठूलो पानी परेको थियो । काठमाण्डौ उपत्यकामा आज बिहानपख छिटपुट पानी परेको थियो ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका धेरैजसो ठाउँको तापक्रम भने वृद्धि भएको छ । हिजो पनि भैरहवामा उच्चतम तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ । आज पनि भैरहवामा उच्चतम तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।

त्यस्तै हिजो काठमाण्डौमा ३२ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा आज ३१ देखि ३३ डिग्री सेल्सियसकोबीचमा रहने अनुमान छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२