Aamsanchar

धीरेन्द्रबहादुर शाहमाथिको प्रतिबन्ध फुकुवा

Author Image
मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथका खेलाडी धीरेन्द्रबहादुर शाहमाथिको प्रतिबन्ध फुकुवा भएको छ । सोमबार अखिल नेपाल फटबल संघ (एन्फा)ले पात्राचार गर्दै शाहमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जनाएको हो ।

सरस्वतीको अपिलमा धीरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा गरिएको एन्फाले जनाएको छ । एन्फाले उनलाई दर्ताअनुरूप लिगमा सहभागी गराउन पत्राचार गरेको छ । एन्फाले उनलाई फिफा कनेक्ट प्रणालीअनुरूप खेल्न योग्य ठहर गरेको छ ।

एन्फाले धीरेन्द्रलाई लिगको तेस्रो खेलबाट प्रतिबन्ध लगाएको थियो । उनको पुरानो क्लब टुसाल र धीरेन्द्रबीचको म्याद नाघेको सम्झौतालाई लिएर लिगमा प्रतिबन्ध लगाइएको थियो ।

सरस्वतीले सुरुदेखि नै उनीमाथि लगाइएको प्रतिबन्ध आधारहीन रहेको दाबी गर्दै आएको थियो ।

प्रतिबन्ध फुकुवापछि धीरेन्द्रले सरस्वतीका बाँकी तीन खेल खेल्न पाउनेछन् । सरस्वतीले अब बाँकी तीन खेलमा वीरगन्ज युनाइटेड, भगवती क्लब टोखा र कुमारी क्लबविरुद्धको खेल्दै छ ।

धीरेन्द्रले सरस्वतीका लागि दुवै खेलमा समान एक गोल गरेका थिए । एन्फाको यो निर्णयसँगै यसअघि नयाँबस्ती युथ क्लबविरुद्ध उल्ट्याइएको नतिजालाई पुनः पुरानै स्थितिमा फर्काएको छ ।

यसअघि, धीरेन्द्रलाई प्रतिबन्ध लगाउँदा सरस्वतीले नयाँबस्तीलाई ३–० ले हराएको नतिजा एन्फाले उल्ट्याउँदै नयाँबस्तीलाई विजेता बनाएको थियो । तर, मंगलबारको विज्ञप्तिमा उक्त नतिजा पुनः सरस्वतीकै पक्षमा बनाइएको एन्फाले जनाएको छ ।

योसँगै सरस्वती तालिकाको रेलिगेसन जोनबाट उक्लिएको छ । ११ खेलबाट १२ अंक जोडेको सरस्वती ११औँ स्थानमा उक्लिएको छ ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर