

फुङ्लिङ-ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

याक प्रवर्द्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राही कृषकहरूले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्तिले) बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश तथा स्थानीय तहमा सर्सत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
याक प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय याक पालक कृषकहरू पलायन हुँदै गएको अवस्थामा उनीहरूको प्रोत्साहनका लागि पालिकाले यस कार्यक्रम सञ्चालन गर्ने भएको अध्यक्ष लिम्बूको भनाई छ ।

यस अधि सिरिजङ्घा गाउँपालिकाले पनि याक प्रवर्द्धनको कार्यक्रम अघि सारेको थियो । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा विषेश गरि फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा याक पालक कृषक रहेका छन् ।


