

काठमाण्डौ – प्लानिङ ब्वाइज युनाइटेड दुई खेल बाँकी छँदै नेपाली घरेलु फुटबलको शीर्ष डिभिजन अर्थात ‘ए’ डिभिजनमा उक्लिएको छ ।

जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङले हिजो बाँसबारी क्लबलाई २–० गोलले पराजित गर्यो ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा भएको यो जीतसँगै लिगमा कम्तीमा शीर्ष दुई स्थान पक्का गर्दै प्लानिङले शीर्ष डिभिजनको यात्रा पक्का गरेको हो ।


अब प्लानिङले लिगमा दुई खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि प्लानिङ शीर्ष दुईमा नै रहने पक्का छ ।
प्लानिङले ११ खेलबाट २७ अङ्क जोड्यो । पराजित बाँसबारी ११ खेलबाट १५ अङ्कका साथ सातौं स्थानमा झरेको छ ।
सन् २०१२ देखि नेपालको घरेलु लिग खेल्ने थालेको प्लानिङले १३ वर्षमा नै शीर्ष डिभिजनको यात्रा तय गरेको हो ।
२०७९ सालको ‘सी’ डिभिजन लिगमा प्लानिङ उपविजेता बन्दै ‘बी’ मा उक्लिएको हो । त्यसपछि लामो समय लिग हुन सकेन । ‘बी’ डिभिजन खेलेको पहिलो प्रयासमा नै प्लानिङ शीर्ष डिभिजनमा पुग्न सफल भएको हो ।

