कचनकवल । कचनकवल गाउँपालिकाले स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। प्रारम्भिक चरणमा कक्षा १ देखि ३ सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए।

गाउँपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयमा यो पाठ्यक्रम लागू गरिएको छ भने निकट भविष्यमा संस्थागत विद्यालयहरूमा पनि विस्तार गरिने अध्यक्ष राजवंशीले बताए।

स्थानीय पाठ्यक्रम अन्तर्गत तयार गरिएका “कचनकवल ज्ञानमाला शृङ्खला”का पाठ्यपुस्तकहरू सोमबार एक औपचारिक समारोहमार्फत विमोचन गरिएको हो। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष राजवंशी, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, शिक्षा शाखा प्रमुख मनिता बराल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल, वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, पाठ्यक्रम निर्माण समितिका सदस्य, स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो।

स्थानीय पाठ्यक्रमले कचनकवल क्षेत्रको धर्म, संस्कृति, चाडपर्व, भूगोल, भाषा, वेषभूषा, पेशा, प्राकृतिक स्रोतसाधन लगायतका विविध पक्ष समेटेको छ। पाठ्यपुस्तकमा सामाजिक रीतिथिति, रमाइला स्थल, कृषि, सिप, खेलकुद, व्यक्तित्व विकास, स्वास्थ्य र नैतिकताका विषय पनि समावेश गरिएको छ।


पाठ्यक्रम निर्माण समितिका सदस्य कर्ण बहादुर राजवंशीका अनुसार गाउँपालिकामा बसोबास गर्ने राजवंशी, गन्गाई, सन्थाल, माझी, मुस्लिम र कुमाल समुदायको परिचय, चाडपर्व, धार्मिक स्थल, थान मन्दिर, परम्परागत खाना, पहिरन, बाजागाजा र हाटबजारको महत्वसमेत पाठ्यक्रममा समेटिएको छ।
“पाठ्यक्रम तयार गर्दा स्थानीय तथ्याङ्कलाई विज्ञहरूमार्फत विश्लेषण गरी सांस्कृतिक पक्षको बहुआयामिक अध्ययन गरिएको छ,” उनले बताए, “स्थानीय आवश्यकता र संवेदनशीलतालाई उजागर गर्न यो पाठ्यक्रम निकै उपयोगी सावित हुनेछ।”

