संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

वैशाख ३१ गते साँझको समयमा छिमेकीको घरमा बसिरहेका बेला पानीसहित परेको चट्याङ लागेर ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतीक तामाङ र १९ वर्षीय रिजन तामाङ घाइते भएका थिए।

घाइतेहरूलाई उपचारका लागि तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारका क्रममा चिकित्सकले निर्मला तामाङलाई मृत घोषणा गरेका हुन्।

अन्य तीन जना घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको स्थानीय प्रहरी स्रोतले जनाएको छ।

Views: 137

