

विराटनगर – विराटनगरमा मन्त्री सवार गाडीलाई सिटी सफारीले ठक्कर दिएको छ। गाडीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार थिए।

विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा सोमबार साँझ ७:३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सीटी सफारीले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

उनका अनुसार मन्त्री हाङगाम सवार गाडी कञ्चनबारी चोकमा ‘ट्राफिक रेड लाइट’मा रोकिएको थियो। ‘ट्राफिक लाइट’मा रोकिएर रहेको गाडीलाई सफारीले पछाडिबाट ठक्कर दिएको जोशीको भनाइ छ। सफारीको ठक्करबाट गाडीको पछाडिको ‘लाइट’ फुटेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएन। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बरगाछीबाट खटिएको असई भोलानाथ वाग्ले नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
वाग्ले नेतृत्वको टोलीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएको छ। सफारी चालकको लापरबाहीले दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालिएको जानकारी डीएसपी जोशीले दिए।


