
पाँच वर्ष अगाडि खिचिएको तस्वीर । तस्वीर: बिनोद पाण्डे आमसंचार

बिर्तामोड । देशका प्रमुख सहरस्थित बसपार्कमा नजर दौडाउने हो भने काँकडभिट्टा जाने गाडीहरू देखिनु कुनै नौलो कुरा होइन। यसले स्पष्ट रूपमा जनाउँछ कि काँकडभिट्टानेपालकै एक प्रमुख सहर हो—जहाँ दैनिक हजारौं यात्रु आवतजावत गर्छन्।

तर आजको काँकडभिट्टा सधैं यति व्यवस्थित र व्यस्त सहर थिएन। कुनै पनि ठाउँको विकासले त्यसको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिलाई समेटेको हुन्छ। काँकडभिट्टा पनि त्यसैगरी इतिहासको गहिराइमा जडिएको नाम हो—जसको आफ्नै कथा छ ।

काँकडभिट्टाको बारेमा सम्क्षिप्त जानकारी
नेपाल–भारत सिमानामा अवस्थित काँकडभिट्टा देशको एक प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ। तर के तपाईंलाई थाहा छ, यो नामको पछाडि भूगोलसँग जोडिएको रोचक इतिहास लुकेको छ ।


स्थानीय बुजुर्गहरू र भाषिक जानकारहरूका अनुसार “काँकडभिट्टा” नाम दुई शब्दको समायोजनबाट बनेको हो— ‘काँकड’ र ‘भिट्टा’। काँकड भन्नाले गंगटा हो भने भिट्टा भन्ने नेपाली शब्दले जमिनको छेउ वा सतहलाई जनाउँछ। अर्थात्, काँकडभिट्टा भन्नाले “गंगटा धेरै पाउने भिट्टाजस्तो जमिन“ भन्ने अर्थ दिन्छ ।
इतिहासविद्हरूका अनुसार पुराना दिनमा मेची नदी आसपासको यो भूभाग बगरयुक्त विरान जमिनले ढाकिएको थियो। नेपाल–भारत सीमावर्ती भएर पनि यस क्षेत्रमा जनघनत्व न्यून थियो। तर भारतको सिलीगुडी, दार्जिलिङतर्फ जाने प्रमुख मार्ग रहेको हुँदा विस्तारै यहाँ मानिस बसोबास गर्न थाले। आजको काँकडभिट्टा त्यही विरान जमिनबाट क्रमिक रूपमा सहरमा रूपान्तरण भएको नमूना हो ।
आज काँकडभिट्टा मेचीनगर नगरपालिकाको एक व्यस्त केन्द्र हो जहाँ नेपाल–भारतबीचको व्यापार, आवागमन र सांस्कृतिक सम्पर्क हुने प्रमुख बिन्दु छ। यहाँ भन्सार कार्यालय, आप्रवासन कार्यालय र सुरक्षासम्बन्धी पूर्वाधारहरू स्थापित छन्।
स्थानीय अग्रजहरुको भनाई छ । “हामीले काँकडभिट्टा बगरकै रूपमा देखेका थियौं । यस ठाउँमा गंगटा समाउन विभिन्न ठाउँबाट आदिवासी समूदायका मानिसहरु आउने गर्दथिए । बाल्यकालमा यहाँ खेतबारी थिएन, खोल्सानाला र गंगटा थिए ।”
काँकडभिट्टा नाका हाल देशको पूर्वी प्रवेशद्वार मात्र नभई अन्तर्राष्ट्रिय व्यापार र पर्यटकीय गतिविधिको केन्द्रका रूपमा पनि विकास हुँदै गएको छ। भूतपूर्व ढुंगाम्मे भिट्टामा आजको आधुनिक सहर उभिनु काँकडभिट्टाको साँच्चिकै ऐतिहासिक यात्रा हो।
हाल काँकडभिट्टालाई काँकरभिट्टा भन्न थालिएको छ । यसरी नाम अपभंश हुँदै जादा स्थानको इतिहास पनि गुमनाम हुने सम्भावना रहन्छ ।

