झापा । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत १७ जना विद्यार्थी एकैपटक बिरामी परेका छन्। प्रारम्भिक निष्कर्ष अनुसार, धाराको पानीले हैन, मनोवैज्ञानिक असर ‘मास हिस्टेरिया’ का कारण उनीहरूमा पेट दुख्ने लगायतका लक्षण देखिएको चिकित्सकहरूले बताएका छन्।

बिहीबार दिउँसो करिब २ बजे कक्षा ४ र ५ का विद्यार्थीहरूले विद्यालयकै धाराबाट पानी पिएपछि एकपछि अर्काे गर्दै पेट दुख्ने, चिच्याउने, रुन सुरु गरेपछि विद्यालय प्रशासनले उनीहरूलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पु¥याएको थियो।

विद्यालयका सञ्चालक खगेन्द्र सुवेदीका अनुसार सुरुमा केही विद्यार्थी मात्रै प्रभावित देखिए पनि त्यसपछि अरूमा पनि एकैखालका लक्षण देखिन थाले। “पहिला ३–४ जनालाई पेट दुख्यो भनेर लडीबडी गरेको देखियो, त्यसपछि अरू साथीहरू पनि त्यहीँ शैलीमा प्रतिक्रिया जनाउन थाले,” उनले भने

सबै विद्यार्थीहरूको उपचारपछि डिस्चार्ज
बिर्तासिटी अस्पतालका चिकित्सक डा. रमेश यादवका अनुसार, ती विद्यार्थीहरूमा ’मास हिस्टेरिया’ को लक्षण देखिएको हो। “धाराको पानीमा कुनै विषादी वा बाह्य प्रभाव नभएको खण्डमा, यस्तो किसिमको सामूहिक मनोवैज्ञानिक असर देखिन सक्छ,” डा. यादवले जानकारी दिए। यद्यपि, घटनाको पुष्टि गर्न पानीको गुणस्तर परीक्षण गरिनुपर्ने उनले बताए।


जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले सबै विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए। “धाराको पानीको नमुना परीक्षण गरिनेछ,” उनले भने।
मास हिस्टेरिया भनेको के हो ?
‘मास हिस्टेरिया’ वा सामूहिक मनोवैज्ञानिक विकार भनेको कुनै समूहमा बिना जैविक कारण शारीरिक लक्षणहरू देखिने अवस्था हो। विशेषतः बालबालिका तथा किशोरावस्थामा रहेका व्यक्तिहरूमा यस्तो असर बढी देखिन्छ। कुनै डर, तनाव, वा साथीहरूको व्यवहारको प्रभावले पनि यस्तो लक्षण देखा पर्न सक्छ।

