Aamsanchar

झापा गौरादहका कृषक आन्दोलित : समस्या जताततै, सुनुवाइ कतै छैन

Author Image
शनिवार, जेठ ११, २०८२

गौरादह । झापाको गौरादह नगरपालिका–८ का कृषकहरू विगत केही समयदेखि गम्भीर समस्याको सामना गरिरहेका छन्। सरकारले कृषि प्रवद्र्धनका नाराहरु घन्काइरहँदा स्थानीय कृषकहरू मल, बिउदेखि सिँचाइसम्मका आधारभूत आवश्यकताबाट समेत वञ्चित छन्। समस्याको चुलिंदो अवस्थामा आइपुग्दा उनीहरूले आज विहान एक घण्टा सडक अबरोध गर्दै आफ्ना माग सार्वजनिक गरेका छन्।

कृषकहरूले उठाएका समस्याहरू केवल तत्कालीन राहतका माग मात्र होइनन्, यी दीर्घकालीन संरचनागत समस्या हुन् जसले नेपाली कृषिलाई पछाडि पारिरहेको छ ।

उनीहरूले राखेका मुख्य समस्याहरू यस्ता छन् ।
उत्पादनको मूल्य पाउन समस्या
सरकारले तोकेको समर्थन मूल्यसमेत कृषकले पाउन सक्दैनन्। बिचौलियाको जालोमा परेर आफ्नै उत्पादन सस्तोमा बेच्न बाध्य छन्।
मल, बिउ र औषधिको अभाव
मल र बिउ समयमै नपाउँदा उत्पादन प्रभावित हुन्छ। कीटनाशक औषधि अभावका कारण बालीमा रोग लागेपछि हातमुख जोर्नसमेत मुस्किल पर्ने अवस्था छ।
ट्रयाक्टर जोताइ महँगो
ट्रयाक्टरको जोताइको दर अत्यधिक भएकोले स(साना कृषकको खेती गर्ने क्षमता कमजोर बनिरहेको छ।
सिँचाइमा विद्युत शुल्कको भार
कृषि सिँचाइका लागि प्रयोग हुने विद्युतमा पूर्ण छुट हुनुपर्ने माग उनीहरूको मुख्य सरोकार बनेको छ। हालको शुल्कले कृषकमा थप आर्थिक बोझ परेको छ।

समूहगत आवाज : जोरपल उच्च कृषक समूहको नेतृत्वमा गरिएको आन्दोलनमा ३५ जना स्थानीय कृषक सहभागी थिए। हलो, जुवा, कोदालो जस्ता परम्परागत औजार हातमा लिएर उनीहरूले कोणसभा गर्दै सरकारलाई गम्भीर ढंगले चेतावनी दिएका छन्।

समूहका अध्यक्ष इन्द्र पोखरेल भन्छन्, ‘हामी कृषकको अवस्था दिनप्रतिदिन संकटतर्फ उन्मुख छ। सरकार गम्भीर नभए हामीलाई सडकमा उत्रिनु बाहेक विकल्प छैन।’
स्थानीय तहदेखि संघीय सरकारसम्म कृषिमा अनुदान र योजनाको कुरा गरिन्छ, तर व्यवहारमा कृषकको जीवन झन् संकटग्रस्त बन्दै गएको छ। कृषकहरूको समस्यामा तत्काल ध्यान नदिए आगामी दिनमा कृषिमा नै आकर्षण घट्ने, आयातमा निर्भरता बढ्ने खतरा विशेषज्ञहरूले औंल्याएका छन्।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर