

काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले आफू गृह मन्त्रालयमा आएदेखि गलत भएको पुष्टि भए राजनीतिमा देखा नै नपर्ने बताउनुभएको छ ।

धनुषामा आज पार्टी कार्यकर्ताहरूसँगको छलफल क्रममा गृहमन्त्री लेखकले आफूविरुद्ध उठेका विषयहरूमा आत्तिनुपर्ने कारण नरहेको दाबी गर्नुभयो । उहाँले ती विषयहरू कहाँबाट कसरी भए भन्ने विषयमा आफूले बुझिरहेका कारण चुप लागेर बसेको पनि बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुलिरहेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको छ ।

अख्तियारले छापा मार्ने सूचना पाएर बुधवार मन्त्री लेखकले विमानस्थलका अध्यागमन प्रमुख तीर्थ भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गर्नुभएको थियो । भट्टराईलाई अख्तियारले बिहीवार पक्राउ गरेर हाजिरी जमानीमा छाडेको छ ।
त्यसयता गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका १५ जना कर्मचारीको सरुवा गरिसकेको छ ।

