Aamsanchar

निजामती कर्मचारी आन्दोलित

Author Image
आइतवार, जेठ ११, २०८२

काठमाडौँ – वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्‍टता रहेको भन्दै प्रस्तावित कर्मचारी विधेयकप्रति असहमति जनाउँदै निजामती कर्मचारीले आन्दोलन थालेका छन्।

उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन्।

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्‍टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए।

पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था हुनुपर्ने, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्ने लगायतका माग कर्मचारीले अघि सारेका छन्।

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले मेचीको मान्छे दार्चुला गएर काम गर्ने बाध्यता रहेको उल्लेख गर्दै कर्मचारी घर जान पाउने कि नपाउने ?भन्दै प्रश्न गरे। ट्रेड युनियन सञ्जालका ११ बुँदे माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए।

उनले भने, ‘हाम्रा ११ बुँदे मागमा हामीले कर्मचारीको वृत्ति विकासका कुरा गरेका छौँ। त्यसमा हामीले भनेका छौँ पाँच वर्षमा एक तह र र दश वर्ष नाघेकालाई एक श्रेणी बढुवा गर्ने कुरा राखेका छौँ। हामीले अन्तरप्रदेश सरुवाको माग गरेका छौँ।’

करार कर्मचारी रित्तो हात घर फर्कन नपर्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

 

 

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर