झापा । भारतको केरलामा औसतभन्दा एक साता अघिदेखि नै मनसुन भित्रिसकेको छ। सन् २००९ पछि पहिलोपटक यति चाँडो मनसुन सुरु भएको भारतको मौसम विभागले पुष्टि गरेपछि नेपालमा पनि यस वर्ष मनसुन समयभन्दा छिटो प्रवेश गर्ने संकेत देखिएको छ।

नेपालको जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ७ देखि १० दिनभित्र झापा हुँदै मनसुन नेपाल भित्रिन सक्ने आकलन गरिएको छ। विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यद्यपि ठ्याक्कै मिति भन्न नसकिने भए पनि अवस्था नजिकिएको छ। मनसुनको प्रारम्भिक सक्रियता हेर्दा सुरुवातमै बाढी, पहिरोजस्ता प्राकृतिक विपद् निम्त्याउने खतरा रहेको उनको चेतावनी छ।

औसतभन्दा बढी वर्षाको अनुमान
यो वर्ष नेपालमा औसतभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरिएको छ। मौसम विभागले हालै सम्पन्न ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भागमा वर्षा ६५ प्रतिशतसम्म बढी हुने सम्भावना छ। सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका केही क्षेत्रहरू पनि जोखिमयुक्त मानिएका छन्।

चार महिनाको मनसुन अवधिमा (जेठ १८–असोज १४) कुल ८० प्रतिशत वर्षा हुने प्रक्षेपण गरिएको छ। बाँकी आठ महिनामा जम्मा २० प्रतिशत वर्षा हुने अनुमान छ।

२० लाख नागरिक जोखिममा
विभागले अनुमान गरेको छ कि यो वर्ष देशभर ४ लाख ५० हजार घरधुरीका झण्डै २० लाख नागरिक मनसुनजन्य विपद्को सिधा जोखिममा छन्। गत वर्षको तुलनामा यो संख्या झण्डै २ लाखले बढी हो।
गत वर्षको अनुभवले पनि यस वर्ष विशेष सतर्कता आवश्यक देखिएको छ। सोलुखुम्बुमा हिमताल विस्फोटदेखि लिएर काभ्रे, जाजरकोट, ताप्लेजुङलगायत ६३ जिल्लामा बाढी, पहिरो र चट्याङले मानवीय तथा भौतिक क्षति पु¥याएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०८१ सालको मनसुनमा मात्र ४६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव परेको थियो।
विपद् न्यूनीकरणमा संयन्त्रको सक्रियता
गृह मन्त्रालयअन्तर्गत प्राधिकरणले यस वर्षको मनसुन जेठ १८ भित्रै सुरु हुने अनुमानसहित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तयार गरिसकेको जनाएको छ।
प्रवक्ता रामबहादुर केसीका अनुसार उद्धार र राहत कार्यका लागि सामग्री भण्डारण, डोजर तथा एक्स्काभेटर तयारी अवस्थामा राख्ने, स्थानीय तहसँग समन्वयमा काम गर्ने लगायतका तयारी गरिएका छन्।
तर, विपद् विज्ञहरू भने राज्य संयन्त्र कार्यान्वयनमा ढिलो गर्ने, कर्मचारीहरू समयमै नखटिने तथा मानवीय हिसाबले जिम्मेवार भूमिका नलिने प्रवृत्तिले जोखिम अझै बढाउने चेतावनी दिन्छन्। विज्ञ दीनानाथ भण्डारी भन्छन्, “नीति र कार्ययोजना बने पनि मनसुन सुरु भएपछि कार्यालय छाडेर कर्मचारी घुम्न जाने प्रवृत्तिले अघिल्ला वर्षमा झनै खतरा निम्त्याएको थियो। यसपालि यस्ता त्रुटि दोहोरिनु हुँदैन।”
नागरिक तहमा पनि सचेतना जरुरी
सरकारी संयन्त्र सक्रिय हुनु आवश्यक भए पनि नागरिक तहमा पनि समान सचेतता आवश्यक देखिएको छ। मौसमविद् मानन्धरको सुझाव छ, “घर वरपरको नाला र ढल सफा गरौँ, पानी निकास व्यवस्था राम्रो गरौँ। पूर्वसूचना र सतर्कताका उपायहरूप्रति गम्भीर बन्नुपर्छ।”
मनसुनको सुरुवाती चरणमै भारी वर्षा र विपद् आउने जोखिम उच्च छ भने उत्तराद्र्धसम्म त्यस्ता सम्भावना रहिरहने भएकाले यथासम्भव तयारी र सतर्कतामा कुनै कसर बाँकी नराख्न विज्ञहरूको जोड छ।

