

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको नाममा भएको भनिएको अवैध असुलीमा ४०० करोडसम्म असुल गरिएको हुन सक्ने बताएका छन्। अहिले बाहिरिएको तथ्यांक अनुसार दैनिक ५० लाखदेखि ३ करोडसम्मको अनुपातमा अहिलेसम्म ४०० करोडसम्म युवाहरूबाट अवैध असुली गरिएको उनले बताएका हुन्।

यस्तो ठूलो खेल राजनीतिक संरक्षणविना सम्भव नभएको बुझाइ पुनको छ । मंगलबारको संसद्मा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनले यस्तो बताएका हुन्।

पुनको भनाइः–

त्रिभुवन विमानस्थलमा भिजिट भिसा प्रकरण सामान्य विषय होइन। यो त रोजगारी खोज्नै विदेशीने युवाहरूमाथि गरिएको लुट र मानव तस्करीसँग जोडिएको विषय हो। प्रतिदिन ५० लाखदेखि तीन करोडसम्म भनिएको छ। यही अनुपातमा हालसम्म १२० करोडदेखि ४०० करोडसम्म भ्रष्टाचार भएको देखिन्छ । यत्रो ठूलो खेल राजनीतिक संरक्षणविना सम्भव हुन सक्ला ?
मुख्य आरोपी सहसचिव तीर्थराज भट्टलाई गृहमन्त्रीकै ग्रसरतामा विमानस्थल पठाइएको देखिन्छ। यो अनुसन्धानको विषय हो ।
धेरै विषयमा बोल्नुभन्दा पनि कानुन, मानवअधिकार पृष्ठभूमिकै गृहमन्त्री हुनुहुन्छ। अघिल्लो सदनमा मात्रै हेरियो भने प्रतिपक्षी बेन्चमा बसेर नेता मन्त्रीमाथि नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्थ्यो ।
अब राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न विनम्र अनुरोध छ । उहाँ दोषी हो भन्ने हाम्रो दाबी होइन, तर छानविनका लागि सघाउनुपर्छ।

