

मोरङ । पथरीमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएका छन्।

जिरिखिम्ती मैदानमा सम्पन्न पहिलो खेलमा पथरीशनिश्चरे क्रिकेट क्लबले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई ४ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको पञ्चध्वजले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। टोलीका लागि भूपेन राईले सर्वाधिक ३७ रन बनाउँदा, राकेश राई र राजकुमार मगरले समान १०–१० रनको योगदान दिए।

पथरीशनिश्चरेका बलरहरू मध्ये नेल्सन दंगाल, अभिषेक विक र रोहन गहतराजले समान २–२ विकेट लिए भने दीपेश भण्डारीले १ विकेट हात पारे।


जवाफमा पथरीशनिश्चरेले १७ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो। टोलीका लागि समित राईले आक्रामक ब्याटिङ गर्दै ७२ रन बनाए, भने सोलोमन राईले १९ र योगेश श्रेष्ठले १३ रनको योगदान दिए। पञ्चध्वजका सन्जय मुर्मु, भूपेन राई र पवन जैशवालले समान १–१ विकेट लिए।
त्यसैदिन भएको दोस्रो खेलमा दमक क्रिकेट क्लबले केराबारी क्रिकेट क्लबलाई १७१ रनको फराकिलो अन्तरले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको दमकले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४१ रनको विशाल योगफल तयार गर्यो। टोलीका विजय तामाङले शानदार प्रदर्शन गर्दै १०६ रनको शतक प्रहार गरे। वोधराज आचार्यले ४६ तथा प्रदीप परियारले ३९ रनको योगदान दिए।
केराबारीका अभिषेक थापाले ३ विकेट लिए भने शशी मण्डल र सनम सुवेदीले समान १–१ विकेट झारे।
जवाफमा केराबारीको टोली ७० रनमै समेटियो। सनम सुवेदीले १६ र सन्जय राईले १४ रन बनाए बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। दमकका बलर अनिश खड्काले ४ विकेट लिए भने चन्दन शर्मा र सन्तोष सिंहले समान २–२ विकेट लिए। किरण गौतमले १ विकेटको योगदान दिए।
विजयी दमकका विजय तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए।
प्रतियोगिताको दोस्रो चरण बुधबारदेखि सुरु हुनेछ। पहिलो खेल काकडभिटा झापा र मोरङको डाँस मोरङीबीच हुनेछ भने दोस्रो खेल हसहन्द क्रिकेट क्लब र ब्रर्दर्स ११ झापाबीच हुनेछ।

