Aamsanchar

दृष्टिविहीन तर प्रेरणादायी: चिरञ्जीवीको जीवन संघर्ष र आत्मनिर्भरताको कथा

"जीवन हरेस खाएर मर्नका लागि होइन, गरिखानेका लागि हो।"

Author Image
मङ्गलवार, जेठ १४, २०८२

विराटनगर — भीडभाड, कोलाहल र अस्तव्यस्त सहरका रूपमा परिचित विराटनगरका गल्लीहरूमा एउटा चिनारो अनुहार नियमित देखिन्छ – हातमा छडी, काँधमा झोला, अनि अनुहारमा आत्मविश्वासको चमक। ५० वर्षीय चिरञ्जीवी मण्डल, जन्मजात दृष्टिविहीन भए पनि, उनी जीवनदृष्टि र आत्मनिर्भरताको ज्वलन्त उदाहरण हुन्।

विगत दुई दशकदेखि उनी कागती र खुर्सानीको माला बेच्दै विराटनगरका चौक, गल्ली र घरघर पुग्छन्। उनी तीन तला माथिको घरमा बस्ने ग्राहक हुन् या साँघुरो गल्लीको पसल – सबैको लोकेसन उनलाई कण्ठस्थ छ। भन्छन्, “धेरैले सोच्छन् दृष्टिविहीन जीवन रोकिएको हुन्छ, तर मेरो लागि त यो चलिरहेको संघर्ष हो – सम्मानजनक जीवनको लागि।”

नपाउनेको पीडा होइन, पाउनेको प्रेरणा

चिरञ्जीवी कहिल्यै दया खोज्दैनन्। उनले कहिल्यै मागेर होइन, मेहनत गरेर जीवन जिउने बाटो रोजेका छन्। भन्छन्, “कुनैको दया र सहानुभूतिले होइन, आफ्नै पौरखले कमाएको पैसाले छोराछोरी पढाइरहेको छु।” अहिले उनका एक छोरा र एक छोरी स्नातक तहको अध्ययनमा छन् – उनीहरूको सम्पूर्ण खर्च बाबु चिरञ्जीवीको परिश्रमको फल हो।

आधुनिक सहरका अँध्यारो गल्लीमा एक ‘दृष्टिवान’ मान्छे

विराटनगर महानगर जस्तो अव्यवस्थित र भीडभाडयुक्त सहरमा उनी हरेक कुनाको परिचित छन्। बाटोको खाल्डो होस् या मोड, गल्ली होस् या सिँढी – सबै ठाउँ उनलाई थाहा छ। सहरको तीव्र गतिमा चल्ने मानिसहरू उनलाई देखेर चकित हुन्छन्। एक स्थानीय बासिन्दा भन्छन्, “हामी आँखा लिएर पनि घाम लागेको बेला सडकमै ठोक्किन सक्छौं, तर चिरञ्जीवीजी अचम्मको सन्तुलन र साहस लिएर हिँड्नुहुन्छ।”

अधुरो सपना, तर निरन्तर प्रयास

चिरञ्जीवीको एउटा सपना अझै अधुरो छ – एउटा सानो कुटानी(पिसानी मिल खोल्ने। पारिवारिक जिम्मेवारी, बसोबासको खर्च र सीमित आम्दानीका कारण त्यो सपना अझै साकार हुन सकेको छैन। तर उनी भन्छन्, “सपना त बाधा आउँदैमा छोड्ने हो र? म अझै प्रयास गरिरहेको छु।”

शनिबार र मंगलबारबाहेकका दिनहरूमा उनी धार्मिक पुस्तक, पात्रो र अन्य उपभोग्य वस्तुहरू ग्राहकहरूसम्म पुर्‍याउने काम समेत गर्छन्। उनका ग्राहकहरू उनीप्रति विश्वस्त छन् – किनकि उनी समयमै पुग्छन्, इमान्दार छन्, र कुनै गुनासो हुँदैन।

 चिरञ्जीवीजस्ता पात्रहरू नै सच्चा नायक हुन्

चिरञ्जीवी मण्डल दृष्टिविहीन हुन्, तर उनी जीवनदृष्टिले पूर्ण छन्। उनीजस्ता संघर्षशील पात्रहरूले हामीलाई सन्देश दिन्छन् – शारीरिक अपाङ्गता बाधा होइन, आत्मबल र कर्मशीलता नै सफलताको आधार हो।

श्रोत : पत्रकार गणेश लम्सालको फेसबुक पोष्ट 

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर