बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले सो क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिदिएको छ। क्लबले २० जना पत्रकारको प्रतिव्यक्ति १ लाखको दरले जम्मा २० लाख रुपैयाँ बराबरको सामूहिक बीमा गराएको हो।

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाका अनुसार क्लबको वार्षिक कार्यक्रमअनुसार बीमा हरेक वर्ष नवीकरण गरिने छ। “पत्रकारको भौतिक सुरक्षासँगै सम्भावित जोखिम न्यूनिकरणमा बीमाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,” तिम्सिनाले भने।

क्लबका उपाध्यक्ष नारायण अर्यालले ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारहरू थप जोखिममा रहने भएकाले दुर्घटना बीमा अपरिहार्य रहेको बताए। उनका अनुसार प्रेस क्लब पत्रकारको पेशागत र भौतिक सुरक्षाप्रति गम्भीर छ।

बीमाका लागि विभिन्न सेवाप्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई छनोट गरिएको क्लबका सचिव रोशन भट्टराईले जानकारी दिए। सम्झौतामा बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दीपक काफ्ले र क्लब अध्यक्ष तिम्सिनाले हस्ताक्षर गरेका छन्। सम्झौता लगत्तै बीमा प्रभावमा आएको छ।



