बिर्तामोड । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो। नेपाली जनताले आफ्नाे शासन आफैँले चुनेका प्रतिनिधिहरूमार्फत् गर्ने व्यवस्था स्थापनाका लागि युगाैं संघर्ष र बलिदान दिएका थिए।

राजा र रैतीबीचको विभेद, निरंकुशता र उत्पीडन अन्त्य गर्दै सबै नागरिकलाई समान अधिकार दिने लोकतान्त्रिक व्यवस्थाले नेपालमा गणतन्त्र स्थापना गरेको हो। यही व्यवस्थामार्फत् विविधतायुक्त, समावेशी र समतामूलक समाज निर्माण गर्ने जनचाहनालाई नेपालले संस्थागत गरिरहेको छ।

नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई विधिसम्मत ढंगले आत्मसात् गरेको छ भने संघीय, प्रादेशिक र स्थानीय तहका निर्वाचनमार्फत जनप्रतिनिधिहरू चुनीएर governance प्रणाली सञ्चालनमा छन्। यद्यपि, भौतिक पूर्वाधार र आर्थिक समृद्धिमा भने अपेक्षित प्रगति हुन सकेको छैन।

सामाजिक समावेशीता र अधिकारका क्षेत्रमा भएको संघर्ष सराहनीय भए पनि समृद्धिका लागि आवश्यक लगनशीलता र सुशासन अझै कायम हुन सकेको छैन। जनताको जीवनस्तर उकास्न राज्यको ध्यान पुग्न नसकेको विश्लेषण भइरहेका बेला लाखौं नेपालीहरू बिदेशी भूमिमा पसिना बगाइरहेका छन्। मुलुकमा रोजगारी र अवसरको अभाव, भ्रष्टाचारको बढ्दो प्रवृत्ति र शिक्षा, स्वास्थ्य, प्रशासन लगायतका क्षेत्रमा व्याप्त अन्योलताले विकासको बाटोलाई रोकिरहेको देखिन्छ।

विशेषगरी कृषि क्षेत्र उपेक्षित बन्नु, उब्जाउ भूमि प्लटिङमा जानु, जलविद्युत् परियोजनाहरू ठप्प हुनु र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्तीलाई समाधान नगर्दासम्म देशले दीर्घकालीन समृद्धि हासिल गर्न नसक्ने प्रस्ट हुँदै गएको छ।
अब आर्थिक अनुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र स्रोत–साधनको न्यायोचित प्रयोगमा जोड दिन नसके गणतन्त्रको सार्थकता नै खेर जान सक्ने चिन्ता व्यक्त गरिन्छ। गणतन्त्र दिवसको अवसरमा सबै तहका सरकार र जिम्मेवार निकायलाई जनताको भरोसा जोगाउँदै देश विकासतर्फ अग्रसर गराउने दिशामा गम्भीर आत्ममूल्याङ्कन आवश्यक देखिएको छ।

