Aamsanchar

झापाको कमलमा सगुन पार्कको उद्घाटन

Author Image
बिहिवार, जेठ १६, २०८२

कमल- झापाको कमल गाउँपालिका–५, मंगलवारेमा १८औँ गणतन्त्र दिवसको अवसरमा भलिवल खेलाडीको सम्मानमा निर्माण गरिएको स्तम्भसहितको सगुन पार्कको उद्घाटन गरिएको छ।

सगुन युवा क्लबको आयोजनामा सम्पन्न विशेष समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्तम्भ अनावरण गर्नुभयो। क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबले करिब पाँच लाख रुपैयाँ बराबरको लागतमा पार्क र स्तम्भ निर्माण गरिएको जानकारी दिइयो। अध्यक्ष आङदेम्बेले स्वदेश तथा विदेशमा रहेका दाताहरूप्रति आभार व्यक्त गर्दै खेल क्षेत्रको विकासका लागि यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

क्लबका अनुसार नेपालमा भलिवल खेलाडीको सम्मानमा निर्माण गरिएको यो स्तम्भ पहिलोपटक स्थापना गरिएको हो। स्थानीयदेखि राष्ट्रिय स्तरका भलिवल प्रतियोगिताहरू सञ्चालन गर्दै आएको क्लबले आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टी कमलका सभापति केदार चापागाईं, मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, शान्त जीवन प्रतिष्ठान, पूर्णिमा महिला समूह, सगुन बाल क्लब, हाम्रो भरोसा महिला समूहलगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, स्थानीयवासी र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमसँगै क्लबले पाडाजुंगीदेखि गौरादह सडक खण्डअन्तर्गत मंगलवारे–पाडाजुंगी क्षेत्रको डिभाइडरमा रोपिएका विरुवाहरूको गोडमेल र सरसफाइसमेत सम्पन्न गरेको छ।

त्यसैगरी कमल वडा नं। ६ स्थित गेउरिया पुल क्षेत्रमा सामूहिक श्रमदानमार्फत सरसफाइ गर्दै गणेशको मूर्तिसमेत स्थापना गरिएको छ।

कार्यक्रम सञ्चालक तथा क्लबका सचिव रोशन दाहालका अनुसार, गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा थोरै स्रोत र साधनका बीच पनि सामूहिक श्रमदानमार्फत सामाजिक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न हुँदै आएका छन्।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर