

नुवाकोट – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनाव जितेर देशमा शासन गर्न चुनौती दिएका छन् । विदुरमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीले अनावश्यक रुपमा संविधान विरोधी गतिविधि गरिरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन चुनौती दिए। माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको प्रचण्डको दाबी छ। उनले यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरुले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाए । उनले सरकार र सरकारमा सहभागी दलहरूको कारण राजावादीका नाममा अनेक गतिविधि हुन थालेको उल्लेख गरे।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने आफ्नो दलको बटमलाइन रहेको बताउँदै प्रचण्डले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । नेपालमा अरु मन्त्रीहरूसमेत आफूलाई आरोप लाग्दा नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरेको उदाहरण दिँदै अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा नदिएसम्म अन्य विषय अगाडि बढ्न नसक्ने बताए ।

अध्यक्ष ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताए । अनेक गतिविधिका कारण गणतन्त्रलाई समस्यामा पार्न खोजिएको र त्यो जुनसुकैले गरेपनि दिवास्वप्न मात्रै भएको बताए ।
शेरा दरबार प्रकरणको छानबिन होस्
पुर्वप्रधानमन्त्रिसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरण आफू विरुद्धको षडयन्त्रको एउटा नमूना मात्रै भएको बताए । ´मैले भनेको छु, यसमा मलाई छानविन सुरु गरियोस भने, तर, छानविन किन गरिएको छैन, म आफैं अचम्ममा परेको छु ` उनले भने।
उनले विदुर नगरपालिका २ तादी नदी किनारामा रहेको शेरा दरबार प्रकरण यतिखेर टाईटाइफिस भएको दाबी गरे । खुल्ला रुपमा मैले आफू संलग्नता छैन, छानबिन गरियोस् भनिरहेको छु । तर, किन छानविन हुँदैन ? भनेर प्रतिप्रश्न गरे ।
उनले वर्तमान सरकार देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनभावना अनुसार चल्न नसकेको बताए । सरकार परिवर्तनको खेलमा माओवादी नलागेको उनले दोहोर्याए । प्रचण्डले यो सरकार कुन बेला आफ्नै बोझले ढल्छ, कसैलाई थाहा नभएको टिप्पणी गरे ।
देशमा गणतन्त्रको रक्षा, स्थायी शान्तिको बाटो र जनताको आवाजलाई माओवादीले मात्रै पुरा गर्न सक्ने उनले बताए । अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अहिले अपरिहार्य रहेकोसमेत बताए । पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट प्रदत्त जनताका मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताए । व्यवस्थामाथि विभिन्न शक्तिबाट धावा बोलिनु नेपालको स्वाभिमानमाथि आँच पुर्याउन खाजेको उनको भनाई छ ।

