

काठमाडौँ – सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरू मजदुर संघरसंगठनहरूको केन्द्रीय संघर्ष समितिले आज १ घण्टा चक्रपथ चक्काजाम गरेको छ।

सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै उनीहरूले आन्दोलन थालेका हुन्।
आज उनीहरूले ११:३० बजेबाट १२:३० बजेसम्म १ घण्टा २७ किमि चक्रपथ सडक खण्ड र भक्तपुर मुख्य सडक खण्डमा सवारीसाधन (ट्याक्सी, बस, ट्रक)लाइन बद्ध गरेर चक्काजाम गरेका छन्। साथै जेठ १८ गते १२:३० बजे माइतीघर मण्डलामा सम्पूर्ण यातायात व्यवसायीले बृहत् विरोध गर्ने चेतावनी दिएका छन्।

संघर्ष समितिका अनुसार सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजी क्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र भएको आरोप लगाइएको छ।
गण्डकी प्रदेश सरकारले मिति २०८२।२।१ गते प्रकाशित राजपत्रमार्फत निजी सवारीसाधनलाई कालो प्लेटमा भाडामा सञ्चालन गर्न अनुमति दिएकोमा समितिले आपत्ति जनाएको हो।
संघर्ष समितिले आन्दोलनका कार्यक्रमअन्तर्गत २०७८ जेठ १६ गते कार्यालय सबै प्रदेशमा विरोध र्याली गर्ने जनाएको छ। यदि सरकार संवेदनशील नभए २०७८ जेठ १९ गतेदेखि देशव्यापी सवारीसाधन घर ग्यारेजमा थन्काउने आमहड्ताल गर्ने चेतावनी पनि समितिले दिएको छ।


