झापा । गजलकार तथा पत्रकार बिटु केसीको दोस्रो कृति ‘धीत’ माथि शनिबार बिर्तामोडमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा भएको कार्यक्रममा ‘धीत’ भित्रको भाव, भाषा र सिर्जनात्मकताको विविध पक्षमाथि समालोचकहरूले गहिरो चर्चा गरेका थिए।

कार्यक्रममा साहित्यकार शिव प्रणत र विवश बलभद्र कोइरालाले गजलसङ्ग्रहको समालोचना प्रस्तुत गरेका थिए। उनीहरूले ‘धीत’ मा केसीले प्रयोग गरेको फरक शैली, जीवनभोगाइको अभिव्यक्ति र समाजसँगको अन्तर्सम्बन्धबारे विश्लेषण गर्दै कृति नेपाली गजल साहित्यमा महत्वपूर्ण योगदान हुने धारणा राखे।

नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख वक्ताहरुमा महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी र पूर्व अध्यक्ष केशव आचार्य पनि थिए। उनीहरूले साहित्य र पत्रकारिताबीचको सम्बन्धबारे बोलेका थिए।

कार्यक्रममा झापा महासंघका पूर्व अध्यक्ष तथा स्रष्टा केसीका जीवनसाथी तारा बरालले गजलसङ्ग्रह प्रकाशनको औचित्यमाथि विचार प्रस्तुत गरे। महासंघ झापा उपाध्यक्ष विनिशा शर्माले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन महासंघ सदस्य स्वास्तिका आचार्यले गरेकी थिइन्।


कार्यक्रमकै अवसरमा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराललाई दीर्घ सेवा सम्मान पनि प्रदान गरिएको थियो। पत्रकार सहारा उपचार कोषमा एक करोड ११ लाख रुपैयाँ पुर्याउन योगदान गरेकोमा बराल दम्पतीलाई विशेष सम्मानपत्र प्रदान गरिएको हो। सम्मानपत्र वाचन महासंघ कार्यसमिति सदस्य इशा प्रधानले गरेकी थिइन्।
कार्यक्रमको आकर्षणको रुपमा गजलसङ्ग्रह ‘धीत’ भित्रका केही गजलहरू साहित्यकार मोक्ष खतिवडा, टीका चापागाईं, खगेन्द्रा खुशी, भगवती ढुंगेल र अम्बिका कडरियाले वाचन गरेका थिए। कार्यक्रममा अग्रज पत्रकार, सक्रिय सञ्चारकर्मी, साहित्यकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो।
यसअघि काठमाडौंमा विमोचित ‘धीत’ केसीको दोस्रो कृति हो। यसअघि उनले ‘मायाको मात’ नामक मुक्तक संग्रह र ‘आधा मन’ नामक गीति एल्बम सार्वजनिक गरिसकेकी छन्।

