

इलाम- इलामको सूर्योदय नगरपालिका–१०, करफोकमा पूर्वी नेपालका चार जिल्लाका पत्रकारहरूलाई लक्षित गर्दै तीनदिने पर्यटन पत्रकारिता तालिम सुरु गरिएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट आएका ४० जना पत्रकारको सहभागिता रहेको तालिम सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिम उद्घाटन गर्दै नेपालको पर्यटन विकास प्रकृति र संस्कृतिको संरक्षण तथा प्रवर्धनसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए। “तीन तहका सरकारबीच समन्वय र पर्यटकीय क्षेत्र पूर्वाधारसँग जोड्न सक्दा मात्र पर्यटनको समुन्नति सम्भव हुन्छ,” उनले भनाइ राखे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, करफोक खलंगा सामुदायिक होमस्टेका अवधारणा ल्याउने चन्द्र सापकोटा तथा पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेले शुभकामना मन्तव्य दिएका थिए।


तालिम नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा, पर्यटन पत्रकार मञ्च झापाको समन्वयमा र पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा सञ्चालन भइरहेको छ। उद्घाटन समारोह महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। स्वागत मन्तव्य महासंघ उपाध्यक्ष सुब्रत न्यौपानेले राखेका थिए भने कार्यक्रम सञ्चालन महासंघका सहसचिव तिलक योञ्जनले गरेका थिए।
तालिममा पर्यटन पत्रकारितासम्बन्धी सैद्धान्तिक र व्यावहारिक पक्षमा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन्। पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल, लोकपरिकारका अनुसन्धानकर्ता केदार शर्मा र पत्रकार विराट अनुपमले सहजीकरण गर्ने छन्।
पूर्वी पहाडी क्षेत्रमा बढ्दो पर्यटन सम्भावनालाई उजागर गर्न तालिमले सशक्त योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

