Aamsanchar

गायत्री जयन्तीकाे अवसरमा बिर्तामोडमा विशेष धार्मिक समारोह हुने

Author Image
मङ्गलवार, जेठ २१, २०८२

बिर्तामोड – धर्म, संस्कृति र सामाजिक सद्भावको अनुपम उदाहरणस्वरूप यस वर्षको गायत्री जयन्ती बिर्तामोडमा विशेष उत्सवका साथ मनाइँदैछ। आध्यात्मिक उन्नति मात्र होइन, सामाजिक एकता र धार्मिक जागरणको सन्देश फैलाउने उद्देश्यसहित गायत्री माता मन्दिर सेवा समितिले आयोजना गरेको यो कार्यक्रम झापा जिल्लामा नयाँ अध्यायको सुरुवातको रूपमा हेरिएको छ।
पवित्र वेद ज्ञानकी प्रतीक र आध्यात्मिक प्रकाशको स्रोत देवी गायत्रीको जयन्ती यस वर्ष जेठ २२ गते मनाइँदैछ। पूर्वी नेपालमै पहिलोपटक अढाई करोड रुपैयाँको लागतमा बिर्तामोडमा निर्माण भएको दिव्य गायत्री मन्दिर अब श्रद्धालुहरूको केन्द्र बन्दै गएको छ।
गायत्री जयन्तीको अवसरमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको छेउमा निर्मित मन्दिर परिसरमा विविध धार्मिक क्रियाकलापको आयोजना गरिँदैछ। सेवा समितिका अध्यक्ष विवेक अग्रवालका अनुसार बिहान ९ बजे मन्दिरबाट निशान यात्रा निकालिनेछ, जसले सम्पूर्ण बिर्तामोड परिक्रमा गर्दै धार्मिक उत्साहको वातावरण बनाउनेछ। साँझ ७ बजेबाट सन्ध्याकालीन भजन कीर्तन तथा महाप्रसाद वितरण गरिनेछ।
गायत्री माताको स्तुति र स्मरणका लागि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका प्रख्यात भजन गायकहरूको समेत उपस्थिति रहने जनाइएको छ। यसले धार्मिक सांस्कृतिक चेतना फैलाउने मात्र होइन, सामाजिक समरसता र सामूहिक सहभागिताको भावना पनि बलियो बनाउने विश्वास आयोजकले गरेका छन्।
देवी गायत्रीको दिव्य महिमा
पाँच मुख र दश हात भएकी गायत्री देवीलाई प्रकृतिका पाँच तत्व र दिव्य ज्ञानका प्रतीकको रूपमा लिइन्छ। ऋग्वेद ३।६२।१० मा उल्लेखित ुगायत्री मन्त्रु वैदिक ज्ञानको मूल स्रोत मानिन्छ, जसको जपबाट बुद्धि शुद्धि, आत्मबोध र ज्ञानप्राप्ति हुने विश्वास गरिन्छ।
जनविश्वास अनुसार, ऋषि विश्वमित्रले पहिलोपटक गायत्री मन्त्रलाई मानव समाजमा प्रकट गरेका थिए। यसैले यो दिनलाई ज्ञान र दिव्य आशिर्वाद प्राप्तिको अवसरको रूपमा मनाइन्छ। श्रद्धालुहरूले उपवास, मन्त्र जप, गायत्री यज्ञ, र वेदपठन गरी आत्मशुद्धि र आध्यात्मिक उन्नतिको कामना गर्दछन्।
धार्मिक चेतनासँगै सामाजिक सन्देश
गायत्री जयन्तीको यस समारोहले धार्मिक क्रियाकलापलाई मात्र होइन, समाजमा धार्मिक सद्भाव, सहिष्णुता र संस्कृति संरक्षणको सन्देश प्रवाह गरेको छ। श्रद्धालुहरूलाई पुण्य आर्जनका लागि मन्दिरमा सहभागी भई सामूहिक साधना र सांस्कृतिक गतिविधिमा सहभागी हुन सेवा समितिले आह्वान गरेको छ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर