

दार्चुला – व्याँस गाउँपालिका- ६ की लालुदेवी भट्टले ९७ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन्। उनलाई सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो।‘घरमै नागरिकता पाउँदा खुशी लागेको छ’ लालुदेवीले प्रतिक्रिया दिइन्।

लालुदेवीलाई मात्र नभई टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण थालेको छ। टोलीले व्याँस –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र २०५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो। नागरिकता पाउनेमा १३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति छन्। राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत १९७ ज्येष्ठ नागरिक र पाँच अपाङ्गता भएका व्यक्ति छन्।
व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए।


