Aamsanchar

दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान जारी

Author Image
मङ्गलवार, जेठ २१, २०८२

दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ । पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उहाँलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो ।

स्थानीय समय अनुसार ४ बजेसम्म ७१ प्रतिशतभन्दा धेरै कीर्तिमानी मत खसेको दक्षिण कोरियाको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् २०२२ मा भएको पछिल्लो राष्ट्रपति चुनावमा ७७ प्रतिशत मत खसेको थियो । देशभर झन्डै ४ करोड ४४ लाख योग्य मतदाता छन् ।

राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारूढ दलका किम मुन सूबीच छ । किम मुन पूर्वराष्ट्रपति युन सुक–योलको मन्त्रिपरिषद्मा मन्त्री हुनुहुन्थ्यो । झन्डै दुई दशकमा पहिलो पटक दक्षिण कोरियाको शीर्ष पदका लागि कुनै पनि महिला प्रतिस्पर्धामा छैनन् । धेरै युवा मतदाताहरूले देशमा एक निर्णायक नेता देख्न चाहेको बताएका खबरमा उल्लेख छ ।

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्नुहुनेछ । ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टीलमा ५० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । दक्षिण कोरिया अमेरिकामा स्टील निर्यात गर्ने चौथो ठूलो देश हो ।

यस्तै नयाँ राष्ट्रपतिले दक्षिण कोरियाको शक्तिशाली छिमेकी चीनसँग कस्तो सम्बन्ध राख्न चाहन्छन् र बढ्दो खतरनाक आणविक हतियारधारी उत्तर कोरियासँग कसरी व्यवहार गर्ने भन्ने निर्णय पनि गर्नुपर्नेछ ।

 

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर