

काठमाडौं – जर्मनीलाई २–१ गोलले पराजित गर्दै पोर्चुगल युएफा नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पोर्चुगल १–०ले पछि परेको स्थितिबाट खेलमा फर्किँदा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे।

म्युनिखस्थित एलियान्ज एरिनामा गएराति भएको सेमिफाइनलको पहिलो हाफमा जर्मनी हाबी भएको थियो। यसका बाबजुद ब्रेक अघिको खेल गोलरहित बराबरीमा सकियो।



१९औं मिनेटमा जर्मनीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन्। २२औं मिनेटमा पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले जर्मनीको अर्को प्रहारलाई विफल पारिदिएका थिए। ४८औं मिनेटमा घरेलु टिमले डेडलक तोड्यो।
फ्लोरियन रिट्जले जोसुवा किमिखको सहयोगमा हेडर गोल गरेपछि जर्मनीले १–० गोलको अग्रता लिएको थियो। किमिखको राष्ट्रिय टिमबाट यो एक सयौं खेल पनि हो। तर पोर्चुगलले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। ६३औं मिनेटमा फ्रान्सिस्को कान्सेसोले बराबरी गोल फर्काए।
उनका लागि रूवेन डियासले बल उपलब्ध गराएका थिए। ६८औं मिनेटमा नुनो मेन्डेसको पासमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–१को जितका साथ फाइनलमा स्थान सुरक्षित गरेको हो।
४० वर्षीय रोनाल्डोको राष्ट्रिय टिमका लागि यो १ सय ३७ औं गोल हो। उनले अहिलेसम्म पोर्चुगलबाट २ सय २० क्याप जितेका छन। रोबर्टो मार्टिनेजको टिमले सन २००० पछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई हराएको हो।
त्यसबेला जर्मनीलाई ३–०ले हराउँदा कान्सेसोको पिता सर्जियोले ह्याट्रिक गरेका थिए। पोर्चुगल नेशनस लिगको पहिलो संस्करण २०१९ को विजेता पनि हो। अब उसले फाइनलमा फ्रान्स र स्पेन बीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमीफाइनल आज राति हुनेछ।

