Aamsanchar

हात्तीपीडितको नगरमा प्रदर्शन : “हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन“

मेचीनगरमा १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै विरोध

Author Image
बिहिवार, जेठ २२, २०८२

बिर्तामोड । झापाको बाहुनडाँगीस्थित जंगली हात्तीको आतंकका विरुद्ध स्थानीय पीडितहरुले मेचीनगर नगरपालिकामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्। हात्ती पीडित युवा समूहको अगुवाइमा नगरपालिकाको कार्यालयमा पुगेका स्थानीयहरुले “हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन”, “हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन”, “हात्ती आयो पारिको, मकै खायो बारीको” जस्ता नारासहित प्रदर्शन गर्दै नगरपालिकामा १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।

पीडितहरुको आरोप छ— दैनिक सयौंको संख्यामा जंगली हात्ती आएर स्थानीय बासिन्दालाई हैरानी पारिरहे पनि सरोकारवाला निकाय र जनप्रतिनिधिले निरन्तर बेवास्ता गर्दै आएका छन्। उनीहरु भन्छन्, “हामी वर्षौंदेखि हात्ती आतंकबाट पीडित छौं। तर, सरकार हात्तीमैत्री क्षेत्र भन्दै बाहुनडाँगीलाई रमाइलो गन्तव्यको रुपमा प्रचार गरिरहेको छ। हाम्रो पीडाको सुनुवाइ कसले गर्छ?”

जंगली हात्तीको आतंक झेलिरहेको मेचीनगर–१ गाडागल्लीबाट सुरु भएको विरोध ¥याली बाहुनडाँगी बजार, भृकुटी, इँटाभट्टा हुँदै मेचीनगर नगर कार्यालयसम्म पुगेको थियो।

स्थानीय मेघराज खड्काले हात्ती नियन्त्रणमा केही वर्ष अघिसम्म काम आएको सोलार फेन्सिङ अहिले बिग्रिएपछि स्थिति पुनः नियन्त्रणबाहिर गएको बताए। उनका अनुसार, “सोलार फेन्सिङका ब्याट्री हराउँदै गएका छन्। व्यवस्थापन र संरक्षणमा कुनै चासो नदेखाउने सरकार हात्ती करिडोरको चर्चा मात्रै गरिरहेको छ।”

“हामी रातमा निदाउन सक्दैनौं,” खड्का भन्छन्, “बाहुनडाँगीवासी जीवनभर त्रासमै बाँच्नुपर्ने हो र?”

अर्का स्थानीय गोपी रिजालका अनुसार हात्ती आतंककै कारण बाहुनडाँगीको उर्बर जमिन बाँझिन थालेको छ। “घाँस काट्न गएका मानिस फर्कन्छन् कि फर्कँदैनन् भन्ने पक्का छैन,” उनी भन्छन्, “मानव–हात्ती सहअस्तित्वको कुरा राम्रो हो, तर यहाँ त मानव नै बाँच्न सक्ने अवस्था छैन।”

रविन श्रेष्ठ भन्छन्, “धान खेतीमा क्षति भएपछि सुपारी लगाएका थियौं, यसपटक हात्तीले सबै भाँचिदियो। किसान भएकाले बिहान खेतमा जानुपर्छ, रातभर हात्ती धपाउँदै बस्नुपर्छ—यसरी कहिले राहत पाउने?”

पीडितहरुले नगरपालिकामा बुझाएको १५ बुँदे मागपत्रमा भारततर्फबाट आउने हात्तीलाई रोक्न सोलार फेन्सिङ मर्मत गर्नुपर्ने, स्थानीय सरकार र मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिबीच समन्वय अभाव हटाउनुपर्ने, साथै जंगल क्षेत्रमा हात्तीले खाने कम्तीमा ५ प्रतिशत बिरुवा लगाउनुपर्ने लगायतका माग समावेश छन्।

हात्ती आतंकको दीर्घकालीन समाधानका लागि अबको कदम कस्तो हुने हो, भन्ने प्रतीक्षामा बाहुनडाँगीवासी छन्।

Views: 76

प्रतिक्रिया (०)