झापा । देशभरि किशोरहरू अनलाइन ग्याम्बलिङको जालमा फँसिरहेका घटनाहरू दिनप्रतिदिन बढ्दो छन्। झापाको बिर्तामोडस्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का १४ वर्षीय एक विद्यार्थी हाल 1XBet जस्ता गैरकानुनी अनलाइन जुवामा लिप्त भएको ताजा घटनाले अभिभावक, शिक्षक तथा स्थानीय समाजलाई गहिरो चिन्तामा डुबाएको छ।

परिवारका अनुसार, पैसा नपाउँदा ती किशोर चोरी गर्ने, अभिभावकलाई धम्क्याउने र “म मर्छु” भन्दै मानसिक तनाव दिने व्यवहार देखाउँछन्। केही दिनअघि उनी डिप्रेसनमा पुगेका थिए भने, गेम खेल्ने क्रममा ‘हर्ट अट्याक’ जस्तो लक्षणसमेत देखिएको थियो। चिकित्सकीय परीक्षणमा शारीरिक समस्या नदेखिए पनि मानसिक रूपमा गम्भीर असर परेको पुष्टि भएको छ।

यो घटना एक्लो होइन। सोही विद्यालयमा अध्ययनरत कैयौं विद्यार्थी यस्ता जुवा एपहरूमा लत लागेको स्रोतहरू बताउँछन्। एक शिक्षकका अनुसार, यस्ता विद्यार्थीहरू कक्षामा ध्यान नदिने, मोबाइल झिकेर लुकीलुकी गेम खेल्ने, पढाइमा रूचि हराउने र अन्य साथीहरूलाई पनि यस्ता प्लेटफर्मतर्फ आकर्षित गर्ने व्यवहार देखिन्छ।

कानून मौन, पहुँच सजिलो
नेपालमा यस्ता अनलाइन जुवा खेलाउने प्लेटफर्महरू कानुनी रूपमा प्रतिबन्धित छन्। तर VPN, मोबाइल एप्स र सामाजिक सञ्जालमार्फत सजिलै पहुँच हुने भएकाले किशोरहरू सहजै फसिरहेका छन्। सरकारको नियमनकारी निकायहरू जस्तै नेपाल दूरसञ्चार प्राधिकरण, साइबर ब्युरो र शिक्षा मन्त्रालयको सक्रियता अभावले समस्या झन् जटिल बन्दै गएको छ।


प्रहरी पनि चिन्तित
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (DSP) विजय श्रेष्ठ भन्छन्,
“हाल यस्ता खालका घटना बढ्दो छन्। विशेषतः किशोरवर्ग 1XBet जस्ता अनलाइन जुवाको लतमा पर्न थालेका गुनासा बढेका छन्। अभिभावक, विद्यालय र प्रहरीले संयुक्त रूपमा समन्वय गरेर मात्र यस समस्याको समाधान सम्भव छ।”
उनका अनुसार, यस्ता प्लेटफर्ममा सिधा पहुँच भएकाले नियन्त्रणमा चुनौती भइरहेको छ।
समाज, विद्यालय र परिवारको भूमिका
यस समस्याको समाधान दीर्घकालीन तथा बहुआयामिक प्रयासबाट मात्र सम्भव छ। विद्यालयहरूले साइबर शिक्षा, डिजिटल सचेतना तथा मानसिक स्वास्थ्यबारे नियमित कार्यक्रम सञ्चालन गर्नुपर्छ। अभिभावकहरूले आफ्ना बालबालिकाको डिजिटल क्रियाकलापमा नियमित निगरानी राख्न, संवादमा सक्रिय रहन र आवश्यक परेमा मानसिक परामर्श (counseling) सेवा लिनु अत्यावश्यक बनिसकेको छ।

