Aamsanchar

कन्याम : हरियाली चियाबारीले सजिएको पूर्वको प्राकृतिक स्वर्ग

Author Image
आइतवार, जेठ २६, २०८२

इलाम । पूर्वी नेपालको इलाम जिल्लामा अवस्थित कन्याम, प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक मनमोहक पर्यटकीय गन्तव्यको रूपमा प्रसिद्ध बन्दै गएको छ। हरियाली चियाबारी, शीतल मौसम र स्वच्छ वातावरणले यहाँ आउने जो(कोहीको मन लोभ्याउने गरेको छ।

विशेषगरी गर्मीयाममा बढ्दो तापक्रमबाट राहत लिन देशका विभिन्न भागबाट पर्यटकहरू कन्याम पुग्ने गरेका छन्। पहाडी भूगोलमा फैलिएका हरियाली चियाबारीहरू, स-साना खोल्साहरू र चिरबिराहट गर्ने चराहरूले यहाँको वातावरणलाई अझ आकर्षक बनाएको छ।

स्थानीय बासिन्दाका अनुसार, कन्याममा वर्षभरि चिसो र मधुर मौसम रहने हुँदा यहाँको भ्रमण कुनै पनि मौसममा गर्न सकिन्छ। “चियाबारीको हरियाली, सल्लाघारीको हावा र हिमालको झल्को – यी सबैले कन्यामलाई एक स्वर्गजस्तै बनाएको छ,” स्थानीय पर्यटन व्यवसायी टेकराज गिरी बताउँछन्।

कन्याम क्षेत्र वरपरको वनजंगल जैविक विविधताले भरिएको छ। यस क्षेत्रमा पाइने चराचुरुङ्गी, वनस्पति र स्वच्छ पानीका स्रोतहरूले यो स्थानलाई अध्ययन, अनुसन्धान र अवलोकनको दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ।

पर्यटकहरूले चियाबारीबीच रमाउँदै प्राकृतिक दृश्य अवलोकन, फोटो खिच्न, र स्थानिय चिया उत्पादनको अनुभव लिन सक्ने गर्छन्। साथै, कन्यामबाट देखिने सुर्यास्त, हिमाली श्रृंखला र पहाडी भूभागको दृश्यले पनि यहाँको आकर्षण बढाएको छ।

पर्यटन पूर्वाधार विस्तारसँगै कन्यामले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउँदै लगेको छ। स्थानीय तहले पनि प्राकृतिक सौन्दर्य संरक्षणसँगै व्यवस्थित पर्यटक सेवा विकासमा ध्यान दिनुपर्ने देखिन्छ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर