

बिर्तामोड । झापाको मेचीनगर स्थित चारआली जेसीजले धुलाबारीस्थित टाउन हलमा “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” (Passio To Lead Purposeful Leadership) शीर्षकमा प्रकरण गोष्ठी आयोजना गरेको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी आयोजित यस गोष्ठीमा उद्देश्यपूर्ण नेतृत्वका सिद्धान्त र अभ्यासहरूमा प्रकाश पारिएको थियो।

कार्यक्रमको अध्यक्षता चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष सुजुप सुवेदीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपसभामुख इन्दिरा राना मगर उपस्थित रहेकी थिइन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई, हिमालय टेलिभिजनका प्रधान सम्पादक तथा यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँ र नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल वक्ताको रुपमा मन्तव्य राखेका थिए। स्वास्थ्य समस्याका कारण प्रतिनिधि सभा सदस्य मनिस झा को उपस्थिती सम्भव नभएको जानकारी कार्यक्रमको दिन बिहान प्राप्त भएको थियो।


कार्यक्रमको संयोजन चारआली जेसीजका थिम डाइरेक्टर नविन खतिवडाले गरेका थिए। उनले कार्यक्रममा उद्देश्यपूर्ण नेतृत्वको महत्त्व र यसको कार्यान्वयनका उपायहरूमा प्रकाश पारेका थिए। चारआली जेसीजका कार्यकारिणी उपाध्यक्ष उत्सव भट्टराईले जेसीज आस्था र मिशन भिजन वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रानामगर, चारआली जेसीज मातृशाखा धुलावारी जेसीज वर्ष २०२५ का अध्यक्ष डिल्लीराम भण्डारी, संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, राष्ट्रिय उपाध्यक्ष राघभ कोईराला, नेपाल जेसीज सामुदायिक क्षेत्रका कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा र क्षेत्र क का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरू, जेसीजका अभियन्ताहरू, स्कुल र कलेजका विद्यार्थीहरू, राजनीतिज्ञहरू, जेसीज शाखाका अध्यक्ष र पूर्व अध्यक्षहरू, वर्तमान र पूर्व राष्ट्रिय पदाधिकारीहरू, साथै बौद्धिक वर्गका ५०० भन्दा बढी सहभागीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमको उद्घाटन चारआली जेसीजको आधिकारिक वेबसाइटको लन्च र पानसमा दीप प्रज्वलनमार्फत प्रमुख अतिथिको हातबाट गरिएको थियो। उद्घाटन सत्रको सञ्चालन चारआली जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष र प्रमुख बोर्ड सल्लाहकार उत्तम प्रसाद पकुवाल र दोस्रो सत्रको सञ्चालन चारआली जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष रोहित दाहालले गरेका थिए ।

