Aamsanchar

कनकाईमा बाँसको फड्के बगाएपछि डुंगाको भर

Author Image
सोमवार, जेठ २६, २०८२

झापा –  मोरङको रतुवामाई नगरपालिकाका सुनिल सिंह राजपूत आइतबार दिउँसो कनकाई नदीको बगरमा डुंगा पर्खिरहेका थिए । विवाहको निम्तो दिन झापा गाउँपालिका जान लागेका उनी अलमलमा थिए । उनले भने, ‘पुल त कहिले बन्ने हो थाहा छैन । बाँसको फड्के थियो, त्यो पनि बगायो । अब डुंगा चढेर जानुपर्‍यो ।’ गत साता एकै दिन परेको वर्षा र त्यसपछिको बाढीले फड्के बगाएपछि कनकाई नदी वारपार गर्न सर्वसाधारण अहिले डुंगा चढ्न बाध्य छन्, त्यो पनि चर्को शुल्क तिरेर । सुन्दर हरैचाका समीरबाबु तिम्सिनाले झापाको भद्रपुरसम्मको यात्राका लागि पूर्व–पश्चिम राजमार्ग छाडेर हुलाकी सडक रोजेका थिए । पूर्व–पश्चिम राजमार्ग विस्तारले धेरै सास्ती हुने भएकाले झापा पुग्ने छोटो सडकका रूपमा हुलाकी रोजेका थिए । कनकाई बगरमा भेटिएका उनले पछुतो मान्दै भने, ‘बाँसको फड्के छ होला भनेर यताबाट आएको, दुःख मात्रै पाएँ ।’

मोटरसाइकलमा आएका उनले डुंगा चढेर नदी पार गरे । आफ्नो र मोटरसाइकलको गरी दुई सय रुपैयाँ तिर्नु पर्‍यो । ‘फड्के तर्दा पाँचमै हुन्थ्यो, अहिले दुई सय तिर्नुपर्‍यो,’ उनले गुनासो गरे । गौरीगन्ज गाउँपालिकाले स्थानीय अरुण मण्डललाई वार्षिक दुई लाख एक सय रुपैयाँ बुझाउने सर्तमा डुंगाको ठेक्का दिएको थियो । तिनै ठेकेदारले पहिले बाँसको फड्केमा रकम उठाएका थिए, अहिले डुंगाबाट उठाइरहेका छन् । पालिकाका सूचना अधिकारी वीरेन्द्र खड्काका अनुसार आगामी असारबाट ठेक्का सम्झौताको म्याद सकिँदैछ । उनले भने, ‘जनतालाई निःशुल्क आवागमनका लागि झापा गाउँपालिकासँग मिलेर बाँसको फड्के बनाउने कि भन्नेबारे सरसल्लाह भइरहेको छ, तर पालिका निष्कर्षमा पुगिसकेको छैन ।’

कनकाई नदीमाथिको ७२५ मिटर लामो पुल २०६८ साल जेठ १४ मा निर्माण सुरु भएको थियो । ३३ करोड लागतको परियोजना पाँच पटक म्याद थपिँदा पनि अझै अधुरो छ । अहिलेसम्म १९ मध्ये १० वटा स्पान मात्र बनिसकेका छन् । २०७५ मा निर्माण साझेदार पप्पु कम्पनीले जिम्मेवारी छाडेपछि अहिले महादेव–खिम्ती कम्पनी एक्लैले काम गरिरहेको छ ।

हुलाकी सडक निर्देशनालय, इटहरीका इन्जिनियर उपेन्द्र दासले भने, ‘अब २०८४ सम्म समय मागिएको छ। यो बन्यो भने भद्रपुर–विराटनगर यात्रा सहज हुनेछ ।’ तर स्थानीयहरूमा विश्वास हराउँदै गएको छ । हुलाकी सडकको गौरीगञ्ज–झापा बजार खण्डमा वर्षौंदेखि यही पीडा दोहोरिँदै आएको छ । डुंगा चढेर गौरीगन्जतर्फ आइरहेका झापा बजारका पानीलाल राजवंशीले भने, ‘पुल बनेको भए जनताको वर्षौंदेखिको दुःख सकिन्थ्यो । तर अहिलेसम्म सधैँ दुःख पाइरहेका छौं ।’

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर