

तनहुँ – कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आईपीएम)सिकाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसारसैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो। विशेषगरी विषादीको बढदो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ।
कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आइपिएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हामो स्वास्थ्यमा असर पुर्याउने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहन गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए।

‘रासायनिक विषादीको विकल्प सिकाउनुपर्छ। तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएका छौँ । यसले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको छ । यसलाई निरन्तरता दिन अनुरोध गरेका छौँ’, उनले भने।सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिएको उनले बताए।
यसैबीच ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका-१ कुन्छाली टोलका किसानलाई आईपीएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ। यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ। विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए। उनले भने, ‘आयातित उपज बढ्दो छ। यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन्। विषादी प्रयोग न्यूनीकरण गर्न आइपिएम प्रविधि उपयुक्त छ। एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ।’
बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताए। ‘सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ’, उनले भने।
किसान आनन्द भुजेल घर्तीले सिकाइ एकदमै प्रभावकारी भएको बताए। ‘हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ’, उनले भने, ‘हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ। उत्पादन पनि राम्रो भयो। हामी अत्यन्त खुशी छौँ।’ वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आईपीएम प्रविधिको प्रयोगबाट सिकाइ सिकेको उनले बताए।

