बिर्तामोड । गोर्खा फाउण्डेशन नेपालले दोस्रो संस्करणको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ यही जेठ ३१ गते बिर्तामोडस्थित सिटी सेन्टरको साई पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ । उक्त जानकारी फाउण्डेशनले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमार्फत दिएको हो।

फाउण्डेशनका अध्यक्ष वीरबहादुर दर्नालका अनुसार यस वर्षको राष्ट्रिय व्यक्तित्व सम्मान वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई प्रदान गरिनेछ । साथै, झापामा सामाजिक सेवा गर्दै आएका जयनारायण ढुङ्गानालाई पनि सम्मान गरिनेछ ।

अध्यक्ष दर्नालका अनुसार यो वर्षको सम्मान कार्यक्रमलाई विगतको तुलनामा अझ परिस्कृत र भव्य बनाइने छ। “गत वर्ष नगदसहित सम्मान गरेका थियौं, तर सम्मानित व्यक्ति स्वयं नगद लिन इच्छुक नरहेकाले यस वर्षबाट नगद रहित सम्मान दिने निर्णय गरिएको हो,” उनले बताए।

कार्यक्रम संयोजक रोशन नेपालीका अनुसार यसपालिबाट झापाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई प्रोत्साहन स्वरूप सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । त्यसअनुसार, गीत–संगीत, साहित्य तथा शिक्षा सेवामा लामो समयदेखि क्रियाशील अर्जुनधाराका हस्त परियार, झापाबाट पहिलो फिफा रेफ्री बनेका श्याम दनुवार, पत्रकार पर्वत पोर्तेल, चलचित्रकर्मी तथा नायक सुवास मेचे, र मेचीनगरकी पहिलो महिला अटो मेकानिक नीरु परियारलाई प्रोत्साहन सम्मान प्रदान गरिनेछ।


सम्मान कार्यक्रममा बिर्तामोडका २५ भन्दा बढी संस्थाहरूको ऐक्यबद्धता रहने फाउण्डेशनले जनाएको छ। पत्रकार सम्मेलनमा फाउण्डेशनका महासचिव सुबास तिखत्री र प्रमुख सल्लाहकार नगेन शंकरको पनि उपस्थिति रहेको थियो।

