विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा सञ्चालन भएको सातदिने “पर्यटक प्रहरी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। जेठ २९ गते कार्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) दिपक पोखरेल प्रमुख अतिथि रहनु भएको थियो।

समापन समारोहमा बोल्दै एसपी पोखरेलले कोशी प्रदेशमा अवस्थित प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन बढ्दो रहेको उल्लेख गर्दै त्यस्तो परिस्थितिमा शान्ति सुरक्षा र पर्यटकमैत्री वातावरण सुनिश्चित गर्न ‘पर्यटक प्रहरी’को आवश्यकता रहेको बताए।

उनले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को सन्दर्भमा पर्यटकहरूलाई उच्च सम्मान र सेवा प्रदान गर्दै उनीहरूको समस्याको पहिचान र समाधानमा टेवा पुर्याउन अनुशिक्षणबाट प्राप्त ज्ञान अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे। साथै, तालिममा सिकाइएका विषयवस्तुहरू व्यवहारमा उतारी त्रुटिरहित सेवा दिन सहभागी प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। तालिममा कोशी प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी निरीक्षकदेखि जवान तहसम्मका ६० जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।


समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आर्किट्रेक्चर हरि डंगोल, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

