झापा । कृषकका विभिन्न मागहरू अघि सार्दै किसान संघर्ष समिति झापाले झापाको गौरादह नगरपालिका–३ स्थित धोवनिया चोकमा राँकेजुलुस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज दिउँसो २:१५ बजेदेखि ३:३५ बजेसम्म सञ्चालन भएको थियो।

करीब १०० जना कृषकको सहभागिता रहेको उक्त कार्यक्रमको नेतृत्व समिति अध्यक्ष इन्द्रप्रसाद पोखरेलले गरेका थिए। कार्यक्रममा समिति प्रवक्ता खेमराज अधिकारी, साथै कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकाका कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कृषकहरूले उत्पादनमा अनुदानको क्षेत्र विस्तार, न्यूनतम मूल्य सुनिश्चितता, मल–बिउ–औषधिको समयमै उपलब्धता, ट्र्याक्टर जोताइ तथा कृषि उपकरणमा न्यूनतम दर कायम, सिंचाइ महसुल छुट, बिमा अनिवार्यताजस्ता मागसहित नाराबाजी गर्दै राँकेजुलुस प्रदर्शन गरेका थिए।
करीब २०–२२ वटा राँके पुल्टो सहितको जुलुस गौरादह न.पा. तर्फ अघि बढ्दा प्रहरीले १०० मिटर पर नै हस्तक्षेप गरी राँके खोसेर निभाएको थियो। जुलुस गौरादह न.पा.–२ स्थित मुख्य गेट प्रवेश गर्न खोज्दा प्रहरीले रोक्दा घम्साघम्सी समेत भएको थियो। उक्त क्रममा अध्यक्ष इन्द्रप्रसाद पोखरेलको कमीज च्यातिएको कृषकहरूले बताए।

प्रहरी हस्तक्षेपप्रति आक्रोश व्यक्त गर्दै कृषकहरूले नगरपालिकाको गेट अगाडि धर्ना दिँदै कोणसभा गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष पोखरेलले १५ बुँदे मागहरू सार्वजनिक गर्दै मागहरू तत्काल पूरा नभए आन्दोलन थप सशक्त र चरणबद्ध बनाउने चेतावनी दिए।


कार्यक्रमको अन्त्यमा १५ बुँदे मागसहितको व्यानर गौरादह नगर प्रमुख छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजवंशीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रमपछि कृषकहरू तितरबितर भएका थिए।

