गौरादह । गौरादह नगरपालिका–१ मा १५ दिने “बाटेको अग्र्यानिक एण्टी ब्याक्टेरियल धुप र परालको चप्पल उत्पादन, बजारीकरण तथा ब्राण्डिङ” सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा दिव्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न, कमल गाउँपालिकाले आयोजना गरेको यो तालिममा महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गराउन विशेष जोड गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्सा राजबंसीले तालिमको प्रभावको उच्च सराहना गरिन् । उनले नगरपालिकाले उत्पादनमुखी कार्यक्रमहरुलाई प्राथमिकता दिने उल्लेख गर्दै यस्तो प्रयास रोजगारी सिर्जनामा महत्वपूर्ण हुन सक्ने बताइन् ।

दिव्यदृष्टि एण्ड पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले तालिमको लक्ष्य, महत्व र सहभागीको प्रयासको बारेमा जानकारी गराउनुभयो । स्वास्थ्य जीवनको लागि अग्र्यानिक, एन्टी ब्याक्टेरियल धुपको उत्पादनमा आफूहरू क्रियाशील रहेको जानकारी गराउँदै उहाँले ‘दिव्यदृष्टि’ ब्राण्डको धुप बजारमा ल्याउन लागिएको पनि भन्नुभयो ।


गौरादह नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख बबिता तुम्बाफो, वडा सदस्य अन्जु निरौला लगायतको उपस्थितिमा कार्यक्रमको समापन गरियो । उनीहरूले सहभागीहरुलाई निरन्तर उत्पादनमा लाग्न प्रेरित गर्दै भविष्यमा कार्यक्रमको निरन्तरता रहने कुरा व्यक्त गरे ।
दिव्यदृष्टिकी संचालक एवं प्रमुख प्रशिक्षक बबिता तिम्सिनाले यो तालिम महिलाहरूको उद्यमशीलतालाई टेवा पु¥याउन महत्वपूर्ण भएको बताइन् । तालिममा सहभागीहरुलाई आवश्यक बिउ पूँजीको रुपमा कच्चापदार्थ सहित ब्राण्डिङ सम्बन्धी सामग्री पनि प्रदान गरिएको थियो ।
१५ दिने तालिममा सहभागीहरूले स्थानीय साधनको अधिकतम सदुपयोग गरि नयाँ उत्पादनको पहिचान गराउन सक्दा जीवनस्तर सुधार्न मद्दत पुग्न सक्ने आयोजकको विश्वास थियो ।

