झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाले कचनकवल गाउँपालिकासँगको सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीको प्रमुख आतिथ्यमा सुरु गरिएको तालिमको समुद्घाटन कार्यक्रमको विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीको सहभागिता थियो ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीको स्वागत मन्तव्य सहितको प्रतिवेदन अनुसार विपद् स्वयंसेवक आधारभूत तालिम पाठ्यक्रम २०८१ बमोजिम संचालन गरिएको यो तालिम असार १९ गतेसम्म चल्नेछ ।

कचनकवल गाउँपालिकाका सातै वडाबाट प्रतिनिधित्व गराई १४ जना तालिममा सहभागी छन् । विपद्का समयमा खटिने स्वयंसेवकको क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।


तालिममा विपद् पहिचान, सशस्त्र प्रहरीको भूमिका, सरोकारवाला निकायबीचको समन्वय, भग्न संरचनामा उद्धार विधि, जल विपद उद्धार, डोरीको सहायताले उद्धार, अग्नि नियन्त्रण, प्राथमिक उपचार, सडक दुर्घटना न्यूनीकरण लगायत विषयमा सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गरिने कार्यक्रम अधिकृत तुल बहादुर भण्डारीको भनाइ छ ।
जिल्ला प्रमुख अधिकृत गोपाल कुमार अधिकारीले समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गराउनु आवश्यक रहेकाले यो तालिम महत्वपूर्ण भएको उल्लेख गर्दै कार्यक्रमको सफलतालाई शुभेच्छासमेत गरे ।
गाउँपालिका अध्यक्ष राजबंशीले तालिमको आयोजना गर्न पाउँदा गर्व लागेको अनुभूत व्यक्त गरे । यो तालिममा सहभागी भएकाहरूको ज्ञान भविष्यमा विपद्का समयमा महत्वपूर्ण हुन सक्ने विश्वास उनको छ ।

