Aamsanchar

ढोरपाटन जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

Author Image
शनिवार, जेठ ३१, २०८२

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१ ००१ च १७७५ नम्बरको जिप दुर्घटना हुँदा ढोरपाटन–२ की ७० वर्षीय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीय भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते ढोरपाटन–२ की २१ वर्षीय टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि पोखरा लग्दै गर्दा बाटोमै निधन भयो । त्यस्तै सोही वडाकी ७५ वर्षीय मनकुमारी थापाको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ्का प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीय लुम्बिनी महत, २३ वर्षीय इन्द्रा कुँवर, २९ वर्षीय निरमाया खत्री, ३८ वर्षीय देवी परियार, ५३ वर्षीय दुर्गी दर्जी, १२ वर्षीय अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन–५ की ३५ वर्षीय डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीय टनमाया कुँवर घाइते भएका छन् ।

घाइतेहरूको मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो । दुर्घटनाका समयमा जिपमा १६ जना सवार थिए ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर