Aamsanchar

जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालियाे

Author Image
आइतवार, असार १, २०८२

ताप्लेजुङ- मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेबल काठेपुल निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु। तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उहाँले बताउनुभयो । वनेमका अनुसार माङमाया खोलामा रु. एक लाख ५० हजार बराबरको श्रमदानमार्फत अस्थायी मोटरेबल पुल निर्माण भइरहेको छ ।

वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको अध्यक्ष वनेमले उल्लेख गर्नुभयो । सवारीसाधानसहित पैदल यात्री सहज रूपमा आउजाउ गर्न मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर पालिकाले विगतदेखि श्रमदान अभियान सञ्चालन गर्दै आएको छ ।

 

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर