लक्ष्मीपुर । गम्भीर स्वास्थ्य अस्वस्था भोगिरहेका ३० महिनाका अनमोल कुमालको उपचारार्थ विदेशमा रहेका नेपालीहरुले संकलन गरेको रू. १ लाख ४६ हजार ३२९ परिवारलाई हस्तान्तरण गरिएको छ ।

अर्जुनधारा नगरपालिका–५ मा हजुरबा–हजुरआमासँग बस्दै आएका अनमोलको जीवन जोगाउन ‘अनमोल कुमाल बचाउ अभियान’ सुरु गरिएको थियो । विदेशमा रहेका युवा बिमल भारती, सुजन थापा, सन्तोष गिरी, सोनुकुमार कुँवर क्षेत्रीको सक्रियतामा संकलित रकम आइतबार अनमोलको परिवारलाई हस्तान्तरण गरिएको हो ।

कतरमा रहेरै असक्तको साथमा उभिनुपर्ने जिम्मेवरीवोध गरिएको बिमल भारतीको भनाइ थियो — “पराई भूमिमा असजिलो असम्भव हुन्छ, तर देशको माटोको माया असिमित हुन्छ ।”

संकलित रकम अनमोलको हजुरबा टंकबहादुर खत्रीलाई प्रदान गरिएको थियो । कार्यक्रमको नेतृत्व अर्जुनधारा–५ का पूर्व वडाध्यक्ष ध्यानबहादुर भारती, भारती बन्धु एकता समाज नेपाल अध्यक्ष उमेश भारती, शहीद राजन गिरीका पिता केदार शम्शेर गिरी, पत्रकार उद्धव पुरी, समाजसेवी टेकबहादुर गिरी, सागर भारतीलगायतको उपस्थितिमा गरियो ।


कार्यक्रममा शहीद पिता केदार शम्शेर गिरी, पूर्व वडाध्यक्ष भारतीलगायतको भनाइ थियो — “विदेशमा रहेर पनि असक्तको साथमा उभिनु प्रेरणादायी कुरा हो । घरगाउँमा समेत अनमोलको उपचारको लागि अभियान फैलाउनुपर्ने खाँचो छ ।”
अनमोलको आमा अस्मिता मानसिक असन्तुलनमा रहेकी छन् । असक्त अनमोलको उपचारमा आमा अस्मिता, बुबा मिलन, हजुरबा टंकबहादुर, हजुरआमा शारदाले साथ दिएका छन् ।
जन्मेदेखि अस्वस्थ अनमोलको बिर्तामोडको आधारभूत बाल अस्पतालमा परिक्षण गराइएको थियो । त्यहाँको चिकित्सकको परामर्श अनुसार काठमाडौंको कान्ति अस्पतालमा उपचार गराइएको थियो । पछि पाटन अस्पतालमा उपचार गराइँदैछ ।
चिकित्सकको अनुसार अनमोलको अस्वस्थतालाई पूर्ण निको गर्न भारतमा शल्यचिकित्सासहितको उपचार गर्नुपर्ने हुन्छ । त्यसको लागि लगभग २५ लाख भारु खर्च हुन सक्नेतर्फ परिवारको जानकारी छ ।
परिवारको आर्थिक असक्ततालाई मध्यनजर गर्दै विदेशमा रहेकाहरूको प्रयासमा यो रकम संकलन गरिएको हो । टंकबहादुर खत्रीको अनुसार अहिलेसम्म लगभग २८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
अनमोलको जीवन जोगाउन थप सहयोगको खाँचो रहेकाले परिवारको तर्फबाट सबैमा आर्थिक साथको अपिल गरिएको छ ।

