विराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरेको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५१ करोड ७१ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि कोशी प्रदेशले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५८ करोड सार्वजनिक गरेको थियो ।

यस प्रदेशले स्वास्थ्य सेवाको विस्तारका लागि शैलजा आचार्य हृदय रोग केन्द्रलाई विशेषज्ञ सेवासहितको अस्पतालमा रूपान्तरण गर्ने, प्रदेशका अस्पतालमा सेवा विस्तारका गर्न उपकरण र जनशक्तिका लागि ६ करोड २५ लाख विनियोजन गरिएको उल्लेख छ ।

मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अभिप्रेरित गर्न, मनोसामाजिक समस्यासम्बन्धी सबै अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्न बजेट सार्वजनिक गरिएको छ ।

यस्तै, महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या, फिस्टुला तथा निःसन्तानपन आदिको एकीकृत स्क्रिनिङ सेवा विस्तार गरिने भएको छ ।



